विद्युतीय उपकरणको प्रयोगले के बालबालिकालाई असर मात्रै गर्छ ?

विद्युतीय उपकरणको प्रयोगले के बालबालिकालाई असर मात्रै गर्छ ?


 २०१९ अगष्ट १२ मा बीबीसी नेपालीमा एउटा रिपोर्ट प्रकाशित भयो, जसको शीर्षक थियो ‘इन्टरनेट कुलतले ३० वर्ष नपुग्दै दीर्घरोग’ । जसमा ५५ वर्षमाथिका पुरुषमा देखा पर्ने रोग २५ वर्षका पुरुषमा देखिएको थियो । गर्धन दुखेको समस्या लिएर २५ वर्षका युवक अस्पताल पुगेका थिए । कारणमा अस्वाभाविक रुपमा लगातार एउटै आसनमा रहेर फोन वा कम्प्युर मात्रै चलाएर गर्धनको हाड खिइएको उल्लेख गरिएको थियो । 

त्यसैगरी सन २०१९ अक्टुबर ६ मा सीएनएनमा एक रिर्पोट प्रकाशित भयो । जसको शीर्षक थियो ‘मोबाइल फोनको लतले बालिबालिकालाई सुधारकेन्द्रमा राखिँदै’ । जुन घटना दक्षिण कोरियाको थियो । १६ वर्षकी यु चाई–रिनले आफुले दैनिक १३ घण्टा भन्दा ज्यादा फोन चलाउने र सधैं स्कुल जान ढिला भएको उल्लेख गरेकी थिइन् । त्यो सँगै उनले आफुले फोन नचलाउने निर्णय गरे पनि फोनप्रतिको लत छुटाउन नसकेको उल्लेख गरेकी थिइन् । त्यसो त दक्षिण कोरिया विश्वमा सबैभन्दा धेरै स्मार्ट फोन प्रयोग गर्ने मुलुकमा पर्छ । 

यी दुई प्रतिनिधि घटना मात्रै हुन । त्यो पनि निक्कै सामान्य । कारणः योभन्दा धेरै त हिजोआज हाम्रै छरछिमेकमा ‘कार्टुन नभए त भातै नखाने, एकछिन त फोनलाई फुर्सद दिएनी हुने नी, फेसबूक/टिकटकमा के हुन्छ कोनी, कस्तो केही याद नहुनु त?’ लगायतका कुरा सजिलै सुन्न सकिन्छ । विशेष गरेर बालबालिका र किशोरकिशोरी भएका घरमा । पछिल्लो समय अधिकांश बालबालिकाको हातमा मोबाइल फोन, ट्याब, ल्यापटप र कम्प्युटर लगायतका विद्युतीय उपकरण हुन्छन् । त्यसो त अधिकांश अभिभावकको हातमा पनि मोबाइल,ट्याब या ल्यापटप नै देखिन्छ । जसले गर्दा बालबालिकामा यी विद्युतीय उपकरणप्रतिको लत बढ्दै जानुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अभिभावककै भुमिका रहेको छ । त्यति मात्रै नभएर कति अभिभावकले आफैले पनि बालबालिकालाई भुल्याउने बहानामा मोबाइल फोन प्रयोग गर्न दिने/सिकाउने गरिरहेका हुन्छन् । तर, त्यसले दीर्घकालिनरुपमा बालिबालिकामा कस्तो प्रभाव पार्छ त ? चाहे त्यो भौतिक रुपमा होस् या मानिसक रुपमै । यसको हेक्का भने खासै राखेको देखिदंैन । जबकी हामीसँग उनीहरुको लत बिस्तारै हटाउनका लागि अनेकन विकल्प छन् । 

जस्तो, उनीहरुले फोनमा विताउने समय अभिभावकहरुले उनीहरुसँग बिताउने । कुनै पनि रोचक विषयहरु उनीहरुकै भाषा/शैलीमा उनीहरुसँगै बसेर छलफल गर्न सकिन्छ । जसले बालबालिकाको ध्यान मोबाइलबाट भड्काउने सम्भावना भएको मनोविद् गोपाल ढकाल बताउँछन् । यसको सट्टामा बरु उल्टै केहि अभिभावकहरुले उनीहरुको इच्छा विपरित या समस्याको जड बुझ्न भन्दा पहिला नै बालकालिकाको मोबाइल, ल्याप्टप या ट्याबप्रतिको लत हटाउन सतही विश्लेषणका आधारमा मोबाइल फोन नै लिएको/खोसेका पाइन्छ । जबकी ती अभिभावकलाई आफ्ना बालिबालिकाले मोबाइल फोनमा के प्रयोग गर्छन् ? कस्ता कुरालाई फ्लो गरिरहेका छन् ? उनीहरुले प्रयोग गरिरहेको वेभसाईट कतिको लाभदायक छन् ? त्यसले बालबालिकालाई सिर्जनशिल बनाउन कतिको सहज बनाएको छ ? लगायतका कुराको सामान्य जानकारी समेत हुँदैन् । ढकाल भन्छन् ‘बालबालिकामा मोबाइलको विकलपमा अरु केहि नै छैन । के गरुन् त ?’

सन् २०२१ मा ब्रिटेनका स्वास्थ्य मन्त्रीसँगै विज्ञहरुले समेत बालबालिकालाई दुईघण्टा भन्दा ज्यादा मोबाइल चलाउन नदिने निर्देशिका नै जारी गरेका दिए । उक्त समयमा मोली रसेल नामकी किशोरीको आत्माहत्याको कारण इन्स्टाग्रामलाई मानिएको थियो । जहाँ ब्रिटेनकी प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक साली डेभिसले उक्त घटनालाई दुखान्त भन्दै केही बालबालिका अनुचित सामग्रीसम्म पुगिरहेको स्पष्ट भएको बताएकी थिइन् । 

कुनैपनि वयस्क या वृद्ध मानिसहरुकै पनि नजिक भएका वा लत लागेका कुरालाई एक्कासी दुर गर्दिनुले उनीहरुलाई सान्त्वना मिल्नुको सट्टामा झन् मानसिक रुपमा सिथिल बनाउँछ । बालबालिकाको जस्तो कलिलो मस्तिष्कमा अभिभावकको अल्लारे निर्णयले कस्तो प्रतिफल देला ? जबकी त्यी बालबालिकाहरुलाई त खाना खादाँ होस् या खाजा खाँदा मोबाइल नै चाहिरहेको हुन्छ ।

२०२१ मा अमेरिकामा गरिएको एक सर्वेक्षण अनुसार मोबाइल चलाउने भन्दा पनि नचलाउने बालबालिकाको वृद्धि विकास सामान्य तवरमा भएको पाइएको छ । तथापी मोबाइल या ल्यापटपले किशोरकिशोरीको नयाँ विषय प्रतिको खोजमा भने सिर्जनशिलता ल्याएको छ । सोहि अध्ययनअनुसार बालिबालिकाले मोबाइलमा सर्वाधिक प्रयोग गर्ने भनेको भिडियो गेम र सामाजिक संजालका विभिन्न प्ल्याटफर्म छन् । जसमा उनीहरुले घण्टौंसम्म समय खर्चिन्छन् । आफ्ना दैनिक क्रियाकलाप गर्न भुल्छन् । रिसाउँछन् । जसले बालबालिकालाई मात्रै नभएर अभिभावकलाई समेत असर गरिरहेको पाइएको छ । 

मनोविद् ढकाल भन्छन्- ‘बेलैमा मोबाइल र इन्टरनेटप्रति सजग नभए यसले बालबालिकामा विकाराल अवस्था सिर्जना गर्छ । जसले गर्दा हाम्रा सम्बन्धित निकायहरु सचेत रहन् जरुरी छ ।’
 

Skip This
Logo