नेपालमा पहिलाेपटक एपानको बृहत अन्तर्राष्ट्रिय सम्मेलन सुरु

नेपालमा पहिलाेपटक एपानको बृहत अन्तर्राष्ट्रिय सम्मेलन सुरु


एशिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५औं अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु भएको छ । काठमाडौंको मेरियट होटेलमा आजदेखि सुरु भएको सम्मेलनको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन् ।

उद्घाटनका क्रममा मन्त्री शर्माले सरकारले आफ्नै भू–उपग्रह र सफ्टवेयर निर्माणको पहल थालेको र त्यसका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग र थप लगानी प्राथमिकतामा राखेको बताइन् । सूचना प्रविधिसम्बन्धी कानुन परिमार्जन, आवश्यक नीति निर्माण, साइबर सुरक्षाका लागि सचेतना, सार्वजनिक तथा निजी तथ्याङ्कको सुरक्षालगायत क्षेत्रमा गहिरो ध्यान गएको उनले बताइन् । 

डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल समाज निर्माणको लक्ष्य राखेको जनाउँदै मन्त्री शर्माले सबै नागरिकमा आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्ने र यसलाई आममानिसको जीवनस्तर सुधार गर्न प्रयोग गर्न सकिनेमा नेपाल सरकार विश्वस्त रहेको बताइन् ।
 
एपान ५५ मूल समितिका संयोजक लोचनलाल अमात्यले सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्बन्धी संस्थाहरू नेपाल रिसर्च एण्ड एजुकेसन नेटवकले गरेको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले कार्यक्रम आयोजना गरेको उनले बताए । यस सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाएको डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पु-याउने उनको भनाइ छ । 

त्यस्तै, नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका कार्यकारी निर्देशक राजन पराजुलीले विश्वभर फैलिएको कोभिड महामारीपछि पहिलो पटक भौतिक रुपमा पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना भएको बताए । सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्वन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको उनले बताए । 

सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढी सेसनहरु सञ्चालन हुने र १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धानलगायतका विभिन्न क्षेत्रहरुमा केन्द्रित रही प्रस्तुती दिने उनले बताए ।

सम्मेलनमा सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रही सहभागीबीच छलफल हुने जनाइएको छ । साथै नेपालको तर्फवाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्वन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुती रहने कार्यक्रम छ । 

एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको    सहकार्यमा स्थापित एसिया प्यासिफिक एडभान्स नेटवर्कले सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको छ । यसले विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ । 

आजबाट सुरु भएको सम्मेलनमा २५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधिसँग सम्वन्धीत संस्थाहरुवाट १५० गरी ३३० भन्दा बढी प्रतिनिधिहरु सम्मेलनस्थल काठमाडौं मेरियटमा सहभागीता रहेको छ भने २०० भन्दा बढी व्यक्तिहरू अनलाइनका माध्यमबाट पाँच दिनसम्म सञ्चालन हुने एपानको ५५ औं सम्मेलनमा सरिक हुने आसा गरिएको छ । 

Logo