गण्डकी प्रदेशमा काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

गण्डकी प्रदेशमा काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै


गण्डकी प्रदेशमा आज(बिहीवार) नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारामा २ बमोजिम आज दिउँसो ४ बजेसम्म मुख्यमन्त्री नियुक्तिको समय दिएका छन्। 

सोहीअनुसार गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। गण्डकी प्रदेश प्रमुख कार्यालयका अनुसार काँग्रेसका सुरेन्द्रराज पाण्डेलाई प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्री नियुक्त गर्दैछ। पाण्डे काँग्रेस संसदीय दलका नेता हुन् ।

पाण्डे माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन्। केन्द्र सरकारमा सत्तासमिकरण बदलिएपछि गत ९ बैशाखमा एमालेका मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेको थियो। 

गत चैत १० मा माओवादीले सरकारलाई दिएको समर्थन  फिर्ता लिएपछि अधिकारी नेतृत्वको सरकार संकटमा परेको थियो। कानूनतः समर्थन फिर्ता लिएको महिना दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ। सोही प्रावधानअनुसार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेका थियो। 

गण्डकीमा काँग्रेस माओवादीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । तर, दुई दलबीच अवधि भने निर्धारण भएको छैन। प्रदेशस्थित सात मन्त्रालयमध्ये माओवादीले तीनमा दाबी गरिरहेको छ। काँग्रेसले भने चार मन्त्रालयमा दाबी गरिरहेको छ। दुवै दलमा आकांक्षी धेरै भएको हुँदा नियुक्त हुने मन्त्रीको टुंगो लागिसकेको छैन।  

गण्डकी प्रदेशसभामा ६० सदस्य छन्। बहुमतको सरकार गठन गर्न सभामा कम्पतीमा ३१ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा काँग्रेसको २७ र माओवादीको ७ सदस्य छन्। 

Logo