कोरोनाका कारण चीनमा २ हजार ४६२ जनाको मृत्यु

कोरोनाका कारण चीनमा २ हजार ४६२ जनाको मृत्यु


काठमाडौं ।
कोरोनाका कारण चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसैवीच दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर भएको छ ।

शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोना भाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे । अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोना भाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ ।
रासस

Logo