वैज्ञानिकहरूले पत्ता लगाए संसारकै पहिलो ‘एनलग कम्प्युटर’को रहस्य

वैज्ञानिकहरूले पत्ता लगाए संसारकै पहिलो ‘एनलग कम्प्युटर’को रहस्य


सन् १९०० ताका एन्टीकाथेरा नामक युनानी टापु छेउमा गोताखोरहरूको एउटा समूहले रोमन साम्राज्यको समयको एक डुंगाको अवशेष भेट्टायो। त्यस डुंगामा एउटा यस्तो वस्तु थियो, जसले प्राचीन विश्वसम्बन्धी हाम्रो बुझाइमा ठूलो परिवर्तन ल्यायो।  

गोताखोरहरूले भेटेको त्यस वस्तुलाई वैज्ञानिकहरूले एन्टीकाथेरा यन्त्र नाम दिए जुन २००० सालभन्दा अघिको एकदमै परिस्कृत खगोलशास्त्रीय गणक रहेछ । यन्त्र पत्ता लागेदेखि अहिलेसम्म पुस्तैपिछेका वैज्ञानिकहरूले त्यसमाथि अध्ययन–अनुसन्धान गरेर त्यसलाई संसारकै पहिलो एनलग कम्प्युटरको उपमा दिए।

एन्टीकाथेरा यन्त्रका पाटपुर्जा यसरी निर्मित थिए कि तिनले सूर्य र ग्रहहरूको गति, पाक्षिक अवस्थिति र तारामण्डलहरूको अवस्थितिका साथै प्राचीन ओलम्पिक खेलको समयजस्ता विवरणहरू जनाउँथे।  यन्त्रले पृथ्वी केन्द्रमा रहेको प्राचीन पाश्चात्य ब्रह्माण्डको नमुनालाई समेत अँगालेको पाइएको छ।  
त्यस खगोलशास्त्रीय गणकबारे केही पहेलीहरू वैज्ञानिकहरूले पहिल्यै सुल्झाएको भएता पनि साइन्टिफिक रिपोर्ट्स नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार युनिभर्सिटी कलेज लण्डनको एन्टीकाथेरा अनुसन्धान टोलीका वैज्ञानिकहरूले एन्टीकाथेरा यन्त्रलाई दर्शाउने यस्तो नमुना तयार गरेका छन्, जुन् त्यस यन्त्रसम्बन्धी सबै तथ्यांकसँग मेल खान जान्छ र, ब्रह्माण्डबारे युनानी अवधारणाको अद्भूत व्याख्या दिन सक्षम छ। 
युनिभर्सिटी कलेज लण्डनमा कार्यरत एक मेकानिकल इन्जिनियर तथा एन्टीकाथेरा यन्त्रका विशेषज्ञ टोनी फ्रीथले नेतृत्व गरेको टोलीले यन्त्रलाई महत्वाकांक्षी युनानी खगोलशास्त्रीय संकलन एवम् अद्भूत इन्जिनियरिङद्वारा यन्त्रमा परिवर्तित अद्वितीय विचार भनी व्याख्या गरेको छ। 

२०१६ मा गरिएको एउटा अध्ययनले यन्त्रको माथिल्लो भागमा रहेको लिखतमा ४ सय ६२ र ४ सय ४२ वर्ष लेखिएको र ती दुई संख्यालाई यन्त्रका आविष्कारले क्रमशः शुक्र र शनिसँग जोडेको पत्ता लगाएको थियो।

‘यो एकदमै महत्त्वपूर्ण यन्त्र  हो,’ युनिभर्सिटी कलेज लण्डनमा कार्यरत एक सामग्री वैज्ञानिक एडम वजिकले भन े।  उनले थपे, ‘हामीलाई ग्रीक सभ्यताको बारेमा जति थाहा छ, त्यसअनुसार भन्ने हो भने यो यन्त्र अलौकिक छ । यतिको विकसित यन्त्र सयौँ मात्रै होइन हजारौँ वर्षसम्मको इतिहासमा पनि देखिँदैन ।’ 

एन्टिकाथेरा यन्त्रको चल्ने प्रक्रिया बुझ्नु वैज्ञानिकहरूका लागि एउटा ठूलो चुनौति भएको थियो किनभने यो यन्त्र हजारौँ वर्षसम्म भू–मध्य सागरको छालहरू मुनि रहँदा यसको एक–तिहाई भाग मात्र बाँकी रहन पुग्यो । उक्त गणकको अवशेषका रूपमा अहिले ८२ वटा टुक्राहरू रहेका छन्, जसमा यन्त्रको दुवैतर्फ रहेका परिष्कृत गियर र लिखत पनि पर्दछन् । 

नयाँ प्रयोग विधिहरूको जन्म भएसँगै वैज्ञानिकहरू एन्टिकाथेरा यन्त्रको पछिल्लो भागको प्रयोग र नियमहरू पत्ता लगाउन सक्षम भएका छन् जसमध्ये ग्रहण प्रक्षेपणको विधी पनि पर्दछ । फ्रिथकै अगुवाइमा २००६ मा भएको अध्ययनमा सर्फेस इमेजिङ र शक्तिशाली एक्सरे टोमोग्राफीका माध्यमबाट पहिला पत्ता नलागेको लिखतहरू पनि उक्त यन्त्रमा भएको पत्ता लाग्यो । त्यस्तो लिखतले प्रयोगकर्ताका लागि निर्देशनको काम गर्ने निस्कर्ष त्यस अध्ययनको रहेको छ । 

अहिले फ्रीथ र उनको टोलीका वैज्ञानिकहरूलाई एन्टिकाथेरा रहस्यको छुटेको कडी अर्थात् ब्रह्माण्ड दर्शाउने उक्त यन्त्रको बाहिरी र अघिल्लो भागमा रहेका गियरहरूको कार्य पत्ता लागेको भान भएको छ । उक्त अघिल्लो भागको एकदमै थोरै अवशेषमात्र बाँकी रहेको र विगतमा भएको पुनर्निर्माणको प्रयास पनि विद्यमान तथ्यांकको नजिक नआएको उनीहरूको दाबी छ । 

पहिलेका अनुसन्धानहरूमा छुटाइएका ससाना कुराहरूलाई पनि महत्व दिइएको कुरा वजिकले बताए । ‘अरु वैज्ञानिकहरूको कामलाई पनि समेट्दै तिनका कमजोरीहरूलाई सम्बोधन गरेर यो अनुसन्धान गरिएको हो,’ उनले प्रष्ट्याए । यन्त्रमा भएका छेस्का र दुलाहरूको निश्चित प्रयोग हुनुपर्ने अपेक्षा राखी त्यसको सम्बन्ध यन्त्रमा लेखिएको कुराहरूसँग के छ त भनेर विश्लेषण गर्दा अध्ययन सफल भएको उनले बताए । 

२००६ को अध्ययनले नै मथिल्लो ब्रह्माण्ड दर्शाउने भागमा बुध, शुक्र, बृहस्पति र शनिलाई प्रतिबिम्बित गर्ने दानाहरूको चालमा आधारित एक चक्र रहेको पत्ता लगाएको थियो। त्यस भागले सूर्यको चाल, चन्द्रमाको पाक्षिक अवस्थिति र तारामण्डलहरूको अवस्थितिको पनि चित्रण गर्ने गरेको तथ्य त्यस अनुसन्धानले पत्ता लगाएको थियो । ती लिखतहरूको अध्ययनका साथै अनुसन्धानकर्ताहरूले यन्त्रको कम्प्युटरमार्फत् अभौतिक प्रतिलिपि र केही भागको भौतिक प्रारूप बनाई आफ्नो नमुनाको परीक्षण गरेका थिए । 

२०१६ मा गरिएको एउटा अध्ययनले यन्त्रको माथिल्लो भागमा रहेको लिखतमा ४६२ वर्ष र ४४२ वर्ष लेखिएको र ती दुई संख्यालाई यन्त्रका आविष्कारले क्रमशः शुक्र र शनिसँग जोडेको पत्ता लगाएको थियो । सुकरातभन्दा अगाडिका दार्शनिक पारमेनाइडसको कामहरू मार्फत् ती संख्याको सम्भावित स्रोत पत्ता लगाउन अनुसन्धाताहरू सफल भए । ती संख्याहरू सम्बन्धित दुई ग्रहहरू (शुक्र र शनि) आकाशको कुनै एउटा बिन्दुमा फेरि फर्केर आउन लाग्ने समय रहेको तथ्य त्यस अध्ययनले पत्ता लगाएको थियो । 

ग्रहहरूको एउटा बिन्दुमा आइपुग्ने समयको गणना पृथ्वी सौर्य मण्डलको केन्द्रमा छ भन्ने त्यस समयको बुझाइबाट प्रभावित थियो । त्यस किसिमको गलत बुझाइले गर्दा ग्रहहरूको उल्टो घुमाइलाई सम्बोधन गर्न एकदमै जेलिएको स्वरूप भएको यन्त्र बनाउनुपरेको थियो । गलत बुझाइका बाबजुद पनि परिस्कृत प्रविधिको प्रयोगद्वारा वैकल्पिक र सत्यसँग मेल खाने विवरण निकाल्न युनानीहरू सफल भए। 

शुक्र र शनिको एकै ठाउँ आइपुग्न लाग्ने समय पत्ता लागेसँगै इन्जिनियरहरू सही मात्रामा दाँतहरू प्रयोग गरेर एन्टिकाथेरा यन्त्रको लिखतमा भने जस्तै ग्रहहरूको चलनको नक्कल गर्न सक्ने गियर बनाउन सफल भए । यो कार्य एउटा ग्रहको लागि सजिलै छ तर एन्टिकाथेरा यन्त्रमा भएका पाँचवटै ग्रहका लागि एकदमै सिपालु इन्जिनियरहरू चहिएको थियो । त्यसका लागि शुक्र र शनिको एकै ठाउँ आइपुग्न लाग्ने समयका आधारमा अरू ग्रहहरूलाई लाग्ने समय पत्ता लगाई त्यस्तो किसिमका गियरहरूको विकास गर्नुपरेको थियो । 

नयाँ अनुसन्धानले उक्त प्रक्रियाको पूर्णपाठ तयार गरेकाले पनि महत्वपूर्ण हुन आएको हो । तथापि एन्टिकाथेरा यन्त्र सम्बन्धी सबै रहस्यहरू सुल्झिसकेका भने होइनन् । फ्रीथ, वजिक र उनीहरूका सहकर्मीहरू युनानीहरूसँग जस्तो प्रविधि थियो त्यस्तै प्रविधि प्रयोग गरेर एन्टिकाथेरा यन्त्रको प्रतिमा बनाउन चाहन्छन्।
(यो लेख भाइस डटकमबाट भावानुवाद गरिएको हो।)  
 

Skip This
Logo