जनकपुरमा कांग्रेस महिला विभागको प्रदेश स्तरिय कार्यक्रम सम्पन्न

जनकपुरमा कांग्रेस महिला विभागको प्रदेश स्तरिय कार्यक्रम सम्पन्न


नेपाली कांग्रेसको महिला विभागले प्रदेश नं.२ को जनकपुरमा प्रदेश स्तरिय महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म संचालित सो कार्यक्रममा पार्टीलाई मधेसमा बलियो बनाउन महिलाहरुले अग्रसरता देखाउनुपर्नेमा प्रशिक्षकहरुले जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले उद्घाटन गरेको सो कार्यक्रममा करिब २ सय महिलाहरु प्रशिक्षणमा सहभागी भएका थिए । कार्यक्रममा अधिकांश महिलाहरुले पार्टीको विधान पनि बुझ्न नसकिरहेको अवस्थामा  विधान व्यवस्थापन गरि उनीहरुमा नेतृत्व विकास गराउनु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद जितेन्द्रदेवले कांग्रेसलाई मधेशसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । उनले कुनैबेला कांग्रेसको गढ रहेको मधेसमा फेरि पार्टीलाई बलियो बनाउन महिलाको प्रतिनिधित्व तथा सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए । 

विभागकी प्रमुख ईश्वरी न्यौपानेले पार्टीको विधानमा भएको  महिलाहरु सम्बन्धि विशेष व्यवस्थाहरुका बारेमा प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा चित्रलेखा यादव, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, सीता गुरुङ, श्याम घिमिरे, शम्भुलाल श्रेष्ठ लगायतले आआफ्ना विचारहरु राखेका थिए भने नेपाल महिला संघकी सचिव उषा राउतले मैथिली भाषामै प्रशिक्षण दिएकी थिइन् । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनका कारण पार्टीले शोक मनाउने निर्णय गरेकाले यहाँको कार्यक्रममा घोषणापत्र भने जारी गरिएन । 

विभागकी सचिव लक्ष्मी खतिवडाले पार्टीको सिद्धान्तमा धेरै महिला जोडिन नसकेको बताउँदै विधान र संविधानमा लेखेका कुरा जानकारी गराउन र मुलधारको राजनीतिमा महिलाको बलियो उपस्थितीका निम्ति भेला आयोजना गरिएको बताइन्। उनले आगामी दिनमा देशका अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम गरिने जानकारी दिइन् । कार्यक्रम विभागकी अध्यक्ष ईश्वरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

यस अघि काठमाडौं र भैरहवामा पनि कांग्रेस महिला विभागले यस्तै प्रशिक्षण र कार्यकर्ता भेलाको आयोजना गरेको थियो । काठमाडौंमा ५ बुँदे घोषणापत्र र  भैरहवाको कार्यक्रममा ३ बुँदे बुटवल घोषणापत्र पनि जारी गरिएको थियो । यस संगठनले अब लगत्तै पोखरामा पनि प्रशिक्षण कार्यक्रम राखेको छ ।

Skip This
Logo