सिन्धुपाल्चोक र काभ्रेका स्थानीय तहमा कृषि उत्पादन केन्द्र

सिन्धुपाल्चोक र काभ्रेका स्थानीय तहमा कृषि उत्पादन केन्द्र


काभ्रे।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालन हुने भएको छ । दुवै जिल्लाको सबै स्थानीय तहमा एक–एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, व्यावसायिक ब्लक कार्यक्रमका लागि प्रस्ताव दर्ता गर्न किसानसँग कार्यालयले अनुरोध गरेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं ६, ७ र ११, बनेपा नगरपालिका वडा नं १, पाँचखाल नगरपालिका वडा नं २, ३, ६ र १२ र धुलिखेल नपा वडा नं १, २ र ३ मा तरकारी ब्लक सञ्चालन गरिने कार्यालयका प्रमुख तेजप्रसाद दुवाडीले बताए।

उनका अनुसार रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, खानीखोला गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकामा मकै ब्लक सञ्चालन हुने बताइएको छ । यस्तै भुम्लु गाउँपालिका वडा नं २ र ३ मा सुन्तला र बेथानचोक गाउँपालिका वडा नं ५ मा चिया ब्लक सञ्चालन हुनेछ ।

यसैबीच सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ र ७, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ६ र पाँचपोखरी गाउँपालिका वडा नं ३, ४ र ७ मा तरकारी ब्लक सञ्चालन हुनेछ । मेलम्ची नगरपालिकामा किवी, हेलम्बु गाउँपालिकामा स्याउ र चौतारा साँगाचोकगढी नगरपालिकामा चिया ब्लक सञ्चालन हुने बताइएको छ ।

यस्तै लिसङ्खुपाखर गाउँपालिका, जुगल गाउँपालिका र भोटेकोशी गाउँपालिकामा आलु ब्लक सञ्चालन हुनेछ भने सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र इन्द्रावती गाउँपालिकामा मकै ब्लक सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

जिल्ला बार एकाइको अध्यक्षमा थिङ निर्वाचित

जिल्ला बार एकाइ सिन्धुपाल्चोकको अध्यक्षमा भूपेन्द्र थिङ अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको एकाइको ३० औँ साधारणसभा तथा १६ औँ अधिवेशशनले थिङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

उनको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा हरि कार्की, सचिवमा शशिनाथ आचार्य, कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चुनिएका छन् । सदस्यहरुमा दीपक प्रधान, मधुकर मल्ल, यज्ञप्रसाद दङ्गाल हरिप्रसाद सुवेदी र चन्द्रकुमार बस्नेत निर्वाचित भए । त्यस्तै झम्कलाल श्रेष्ठ पार्षद चुनिए ।रासस

Logo