ट्रम्पका सल्लाहकारले सुरु गरे नयाँ ‘सामाजिक सञ्जाल’

ट्रम्पका सल्लाहकारले सुरु गरे नयाँ ‘सामाजिक सञ्जाल’


संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार जेसन मिलरले ‘गेटर’ नामको नयाँ सामाजिक सञ्जालको सुरुआत गरेका छन्। 

न्युजम्याक्सका लागि काम गरिरहेका मिलरले आफ्नो ट्वीटर खातामार्फत् नयाँ सामाजिक सञ्जाल खुलेको घोषणा गरेका हुन्। ४ जुलाईमा उक्त सामाजिक सञ्जाल पूर्णरूपमा सञ्चालनमा आएको थियो।

राष्ट्रपतीय चुनावको समयमा ट्रम्पले हार व्यहोरेपछि अमेरिकी संसद् ‘कंग्रेस’ ले प्रतिद्वन्द्वी जो बाइडनको जितलाई मान्यता दिनै लाग्दा ट्रम्पका समर्थकले कंग्रेसभित्र छिरेर दंगा गरेका थिए। यस घटनालाई ट्रम्पका ट्वीटहरूले प्रेरित गरेको भन्दै ट्वीटरमा निकै नै सक्रिय रहने ट्रम्पलाई उक्त सामाजिक सञ्जालले प्रतिबन्ध लगाएको जनाएको थियो। पछि उनको फेसबुक खाता पनि दुई वर्षका लागि सस्पेन्ड गरियो।

ट्रम्पले नयाँ सामाजिक सञ्जाल खोल्ने हल्ला उनी ट्वीटरबाट बहिर्गमन भएलगत्तै चल्न थालेको थियो। ट्रम्पको राष्ट्रपतीय यात्राका मुख्य रणनीतिकार एवम् ब्राइटबार्ट न्युजका सहसंस्थापक स्टीभ ब्याननलाई पनि ट्वीटरले प्रतिबन्ध लगाएको थियो। 

ट्रम्पका ट्वीटहरू चुनावको समयमा ट्वीटरले सावधानीको सूचनासहित देखाउनदेखि हटाउनेसम्म गरेपछि ट्वीटरले अमेरिकी कन्जरभेटीभ  आवाजलाई दबाउन खोजेको भनी चर्को आलोचना भएको थियो। त्यस समय नयाँ सामाजिक सञ्जाल ‘पार्लर’ ले वाक स्वतन्त्रता हनन् नगर्ने भन्दै कन्जरभेटीभ  कित्ताका नेता, पत्रकार, लेखक आदि ठूलो संख्यामा त्यस सामाजिक सञ्जालमा उपस्थित हुन पुगेका थिए। अहिले पार्लर खस्कँदै गरेका बेला ट्रम्पका सल्लाहकारले नयाँ सामाजिक सञ्जाल ल्याएका हुन्।

उता ट्वीटर र फेसबुकले आफू लगायत अन्य कन्जरभेटीभहरूको आवाज दबाउन खोजेको आरोप चर्चित लेखक बेन सपिरोले पनि लगाउँदै आएका छन्।

साथै अमेरिकाको सूचना प्रविधिसम्बन्धी कानुनको ‘सेक्सन २३०’ अन्तर्गत फेसबुक, ट्वीटर आदि सामाजिक सञ्जालले प्लेटफर्म (माध्यम) को भूमिकामा सुविधा लिँदै आएको थियो। तर, आफ्नो वेबसाइट/एप्पमा एउटा विचारधाराको पक्षपोषण गरेर प्रकाशकको भूमिकामा अघि सरेको भनेर चर्चा भएको थियो। 

अमेरिकाको कंग्रेसको सुनुवाइमा ट्रम्पको रिपब्लिकन पार्टीका सेनेटर टेड क्रुजले यससम्बन्धी सोधेको प्रश्नमा ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले आफ्नो सामाजिक सञ्जालका केही नीति रहेको र त्यसको विरुद्धमा जानेहरूका विरुद्धमात्र त्यस्तो कदम लिइने भन्दै ट्वीटरको बचाउ गरेका थिए। सेक्सन २३० अन्तर्गत सामाजिक सञ्जालले आफ्नो सञ्जालबाट कुनै कुरा हटाउँदा कानुनी नतिजा भोग्नुनपर्ने भएकाले त्यसको दुरुपयोग कन्जरभेटीभ विचारलाई दबाउन प्रयोग भएको टेड क्रुजलगायत रिपब्लिकन पार्टीका नेताहरूको रहेको थियो। 

उदारवादी खेमाका मानिने फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालले आफ्नो विचारधारासँग नमिल्नेको अभिव्यक्तिलाई निषेध गरेर उदारभन्दा पनि अधिनायकवादी चरित्र देखाएको कन्जरभेटीभहरूको ठम्याइ छ। अमेरिकी समाजमा राजनीतिक ध्रुवीकरण ठूलो समस्याका रूपमा अघि सरेको छ। उदारवादी र कन्जरभेटीभ विचार एक अर्काबाट झन् झन् टाढिँदै गएको राजनीतिशास्त्रीको ठम्याइ छ। एक विचारधाराका मानिस अर्को विचारधाराका मानिसप्रति कम सहिष्णु हुँदै गएको उनीहरूको ठम्याइ छ।

राजनीतिक पक्षधरता र ध्रुवीकरण अमेरिकाका सञ्चारमाध्यम, अदालतलगायत संस्थाहरूमा समेत रहँदै आएकोमा अब भने उदारवादी भनिने सामाजिक सञ्जालका विकल्पका रूपमा नयाँ सामाजिक सञ्जालको आगमनसँगै ध्रुवीकरण अझ बढ्ने देखिन्छ। 

Logo