कसरी अघि बढ्दैछ इन्टरनेट सेवाप्रदायकको ‘प्राइस र स्पीड वार’?

कसरी अघि बढ्दैछ इन्टरनेट सेवाप्रदायकको ‘प्राइस र स्पीड वार’?


सन् २०२१ मा संसारको औसत इन्टरनेट स्पीड ५५.१३ मेगाबिट्स प्रतिसेकेन्ड हुँदै गर्दा नेपालको भने २२.३६ मेगाबिट्स प्रतिसेकेन्ड रहेको ‘स्पीड टेस्ट ग्लोबल इन्डेक्स’ ले देखाएको छ। इन्टरनेट स्पीडको सवालमा नेपालभन्दा पछाडि १८ देश मात्र छन्। 

संसारकै सबैभन्दा ढिलोमध्येको इन्टरनेट रहेको नेपालमा इन्टरनेट स्पीडमा पछिल्लो समयमा भने सेवाप्रदायकबीच प्रतिस्पर्धा मौलाएको छ। 

प्रतिस्पर्धाको सुरुआत चौधरी ग्रुपको सीजी नेटले १२० मेगाबिट्स प्रतिसेकेन्ड स्पीडको इन्टरनेट ९ सय ९९ रूपैयाँमा मात्र उपलब्ध गराएर गरेको थियो। सीजी नेटले फरकफरक स्पीड फरक मूल्यमा उपलब्ध गराउनेभन्दा पनि एक मूल्यमा एक उच्च स्पीडको रणनीति लिएको थियो। 

टेलिभिजन सेवा प्रदान गर्दै आएको डिसहोमले फेब्रुअरी, २०२० मा ‘डिसहोम फाइबरनेट’ को नाममा इन्टरनेट सेवा सुरु गरेको थियो। ‘डिसहोम फाइबरनेट’ ले ल्याएको प्याकेजमा सबैभन्दा उच्च स्पीड १०० मेगाबिट्स प्रतिसेकेन्डको रहेको छ जसको मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक मूल्य क्रमशः २ हजार २ सय, ६ हजार, ११ हजार ४ सय र २२ हजार रूपैयाँ रहेको छ। 

त्यस्तै सुबिसुले पनि वार्षिक २८ हजार ३ सय १८ रूपैयाँमा चारवटा क्लियर टिभी सब्सक्रिप्सनसहित १ सय ५० मेगाबिट्स प्रतिसेकेन्ड स्पीडको प्याकेज ल्याएको छ। उक्त प्याकेजमा एक पटकका लागि ‘सेटटप’ बक्सको एक हजार ७ सय ६९ रुपैयाँ पर्नेछ भने हरेक वर्ष २६ हजार ५ सय ४९ रुपैयाँ तिर्नुपर्नेछ। 

‘हाइ एन्ड ग्राहक जसको घरमा चारवटा टिभी छ, उनीहरूका लागि यो प्याकेज ल्याएको हो। हामीले ल्याएको १५० मेगाबिट्स प्रतिसेकेन्डको यो इन्टरनेट प्याकेज नेपालकै सबैभन्दा छिटो हो,’ सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीले भने। 

प्रतिस्पर्धाले प्रयोगकर्तालाई सहज 
यसरी एकपछि अर्को गर्दै उच्च स्पीडको इन्टरनेट कम शुल्कमा दिने होडबाजी नेपालमा सुरु भएको छ। यसले इन्टरनेटको उपलब्धताको वृद्धिमा योगदान पु¥याउने विश्वास नेपाल दूरसञ्चार प्राधिकरणको रहेको छ। 

‘नेपालमा इन्टरनेटको आवश्यकता र प्रयोग बढ्दो छ। शिक्षादेखि भुक्तानीजस्ता दैनिक कार्य र विदेशमा रहेका आफन्तजनसँग सम्पर्कका लागि इन्टरनेट प्रयोग बढेको छ। यस्तो अवस्थामा इन्टरनेट स्पीड बढ्नुले प्रयोगकर्तालाई उत्साहित बनाउँछ नै,’ प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए, ‘यस किसिमको प्रतिस्पर्धाले इन्टरनेटलाई झन सुलभ बनाई मानिसको पहुँच बढ्ने अपेक्षा हाम्रो रहेको छ।’

यसरी केही इन्टरनेट सेवा प्रदायकबीच सस्तो र छिटो इन्टरनेट उपलब्ध गराउने प्रतिस्पर्धा चलिरहँदा सो प्रतिस्पर्धाले अन्य इन्टरनेट सेवाप्रदायकका लागि पनि दवाब सिर्जना गर्ने अपेक्षा गर्न सकिन्छ। 

‘स्पीड’ नियमनको प्रयास र समस्या
नेपालका इन्टरनेट सेवा प्रदायकले प्रतिबद्धता अनुसारको स्पीडमा इन्टरनेट दिएनन् भन्ने गुनासो बारम्बार ग्राहकको तर्फबाट आइरहन्छ। यसका लागि कुन गतिको इन्टरनेट स्पीड सेवा प्रदायकले दिइरहेका छन् भन्ने जाँच्न इच्छुक ग्राहकका लागि दुरसञ्चार प्राधिकरणले स्पीड परीक्षणको सुविधा आफ्नो वेबसाइटमा राखेको छ। 

यद्यपि, इन्टरनेट सेवा प्रदायकले उच्च स्पीडको इन्टरनेट प्याकेज ल्याउँदै गर्दा उनीहरूले प्रतिबद्धता जनाए अनुसारको स्पीड ग्राहकलाई दिँदै छन् कि छैनन् भन्ने कुरा नियामक निकाय दूरसञ्चार प्राधिकरणले सोझै निरीक्षण गर्ने उपाय भने छैन।

Logo