आतंककारीलाई निगरानी गर्ने ‘पेगासस’ सफ्टवेयर पत्रकार र मानव अधिकारवादीमाथि प्रयोग

आतंककारीलाई निगरानी गर्ने ‘पेगासस’ सफ्टवेयर पत्रकार र मानव अधिकारवादीमाथि प्रयोग


आतंककारी र गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको निगरानीका लागि विश्वका विभिन्न देशका सरकारले प्रयोग गर्ने जासुसी सफ्टवेयर ‘पेगासस’ पत्रकार र मानवअधिकारवादीलाई निगरानीका लागि प्रयोग गरिएको खुलासा भएको छ।

वासिंगटन पोस्टका अनुसार पत्रकार, मानवअधिकारवादी, हत्या गरिएका साउदी अरेबियाका पत्रकार जमाल खशोगीसँग सम्बन्धित दुई महिला गरी ३७ जनाको फोनमाथि निगरानी राख्नका लागि पेगाससको दुरुपयोग भएको थियो। यी फोनहरू संसारभरका सरकारको निगरानीमा रहेका ५० हजार फोनको सूचीको एउटा पाटो मात्र रहेको दाबी वासिंगटन पोस्टको छ। 

पेरिसको गैरनाफामूलक समाचार संस्था ‘फरबिडन स्टोरिज’, ‘एम्नेस्टी इन्टरनेसनल’, वासिंगटन पोस्टलगायत सञ्चारमाध्यमको सहकार्यमा त्यस्तो तथ्य पत्ता लागेको हो। निगरानीमा परेकामध्ये विभिन्न ५० मुलुकका १ हजारजनाको पहिचान भइसकेको छ, जसमा अरब राजपरिवारका सदस्य, ८५ मानवअधिकारवादी, १ सय ८९ पत्रकार–मन्त्री र ६ सयभन्दा बढी कुटनीतिज्ञ, सैनिक एवम् सुरक्षा अधिकारी पर्दछन्। केही देशका राष्ट्रप्रमुख र प्रधानमन्त्री पनि उक्त सूचीमा रहेको खुलासा भएको छ। 

निगरानीका लागि प्रयोग भएका फोन नम्बरहरूको सूचीमा सिएनएन, द असोसिएटेड प्रेस, द न्युयोर्क टाइम्स, द वाल स्ट्रिट जर्नल, ब्लुमबर्ग न्युज, फ्रान्सको ले मोन्डे, बेलायतको फिनान्सियल टाइम्स, कतारको अल जजिरा र भारतको ‘द वायर’ लगायत सञ्चारमाध्यमसँग आबद्ध पत्रकारहरूको फोन नम्बर जासुसीका लागि प्रयोग भएको उक्त खोजमूलक रिपोर्टको दाबी छ।

निगरानीका लागि प्रयोग हुने पेगासस सफ्टवेयरको निर्माणकर्ता इज्रेलको एनएसओ ग्रुपले भने सिएनएनसँग कुरा गर्दै आफ्नो बचाउ गरेको छ। आतंक र अपराध रोकेर ज्यान जोगाउने प्रयोजनका लागि आफूले उक्त सफ्टवेयर सरकारलाई मात्र बेच्ने गरेको उक्त ग्रुपको दाबी छ। 

साथै एनएसओले बिक्री गरिसकेपछि उक्त सफ्टवेयर सञ्चालनमा कुनै भूमिका नखेल्ने र सफ्टवेयरमा रहेको जानकारीमा कुनै पहुँच नराख्ने उक्त कम्पनीको दाबी छ। 

अरब क्षेत्रका कतार, युएइका साथै मेक्सिको, भारत, पाकिस्तान, अजरबैजान, काजकस्तान, फ्रान्स र हंगेरीका व्यक्तिहरूको नाम उक्त सूचीमा रहेको छ। 

इजरायलका भूतपूर्व साइबर जासुसहरूले बनाएको पेगासस सफ्टवेयरले स्मार्टफोनहरूमा प्रयोग हुने पासवर्ड र इन्क्रिप्सनजस्ता सुरक्षालाई सजिलै तोड्न सक्ने र फोन प्रयोगकर्ताको जानकारीविनै फोनको सिस्टममा हस्तक्षेप गर्न सक्ने पाइएको छ। त्यस्तै, निगरानीमा रहेको फोनको क्यामेरा र माइक्रोफोन पनि पेगाससले प्रयोग गर्नसक्ने वासिंगटन पोस्टले बताएको छ।

Logo