नेपालमा अवैध मोबाइल बन्द गरिँदै, के-के छन् भ्रम र यथार्थ ?

नेपालमा अवैध मोबाइल बन्द गरिँदै, के-के छन् भ्रम र यथार्थ ?


नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएसँगै अवैध मोबाइल फोन प्रयोग बन्द हुने भएका छन्। यो प्रणाली प्रयोगमा आउने भएसँगै मोबाइल फोन प्रयोगकर्तामा यसबारे प्रश्न छन्।

स्वभाविक प्रश्नसँगै भ्रम पनि सिर्जना भएका छन्। यस प्रणालीबारे भ्रम र तीसँग सम्बन्धित तथ्य यस प्रकार रहेका छन्ः

भ्रम १ः चोरीका फोनमात्रै अवैध हुन्

अवैध भन्नेबित्तिकै कुनै पनि कुरालाई चोरीजस्ता अनैतिक क्रियाकलापसँग जोडेर हेरिन्छ। सरकारको अवैध फोन बन्द गर्ने नीतिप्रति पनि यस किसिमको बुझाइ मानिसमा रहेको पाइन्छ।

तथ्यः नेपालमा आइएमइआई दर्ता नभएका सबै फोन अवैध हुन्

हरेक मोबाइल फोनकोे १५ अंकको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर नामक परिचय हुन्छ।

दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणालीमा नेपालमा भन्सार तिरेर भित्रिएका हरेक मोबाइलको आइएमइआई नम्बर सूचीकृत गर्ने गर्छ। यसरी आइएमइआई सूचीकृत भएकाबाहेक सबै मोबाइल फोनलाई अवैध मानिने भएको हो।

बाहिरबाट चोरी भएर आएको मोबाइल फोनको आइएमइआई नम्बर त नेपालमा दर्ता भएको हुँदैन नै। त्यसबाहेक नेपालबाहिर खरिद गरिएका फोन पनि आधिकारिक च्यानलभन्दा बाहिरबाट आउने भएकाले आइएमइआई नम्बर दर्ता नभइदिने हुँदा अवैध ठहर्छन्।

भ्रम २ः बाहिरबाट आएका फोन काम नलाग्ने भए

बाहिरबाट ल्याइएका वा पठाइएका मोबाइल फोनहरू एमडीएमएस प्रणालीका कारण काम नलाग्ने भएको चर्चा हुने गरेको छ। साथै यो प्रणाली लागू भएसँगै एमडिएमएस प्रणालीमा दर्ता नभएका फोन स्वतः बन्द हुने भन्ने भ्रमले पनि स्थान पाएको छ।

तथ्यः दर्ता गरेर फोनको प्रयोगलाई निरन्तरता दिन सकिन्छ

एमडिएमएस प्रणाली साउन १ गतेदेखि सुरु भए पनि उक्त प्रणालीमा आइएमइआई नम्बर दर्ता नगराएका मोबाइल फोन तत्काल बन्द भने हुने छैनन्। नेपाल बाहिरबाट खरिद गरिएको मोबाइल फोनको आइएमइआई नम्बर दर्ता गराएर उक्त फोनलाई वैध बनाउन सकिन्छ।

यो प्रणाली लागू भए पनि नेपालमा चलिरहेका कुनै पनि मोबाइल तत्काल बन्द हुने छैनन्। नेपालबाहिर किनिएका मोबाइल फोनको आइएमइआई दर्ता हाल प्रधिकरणले खुला गरेको छ। 

भ्रम ३ः यो नियम प्रयोगमा रहेका मोबाइल फोनमा लागू हुँदैन

एकथरी मानिसमा प्राधिकरणले ल्याएको नयाँ नियम आगामी दिनमा आउने मोबाइल फोनका लागि मात्र रहेको र हाल प्रयोगमा रहेका मोबाइल फोनको हकमा लागू नहुने भन्ने बुझाइ रहेको पाइन्छ। 

तथ्यः प्रयोगमा रहेका फोनको पनि आइएमइआई नम्बर दर्ता अनिवार्य

हाल आइएमइआई नम्बर दर्ता नभएका तर प्रयोगमा रहेका मोबाइल फोन दर्ता अनिवार्य रूपमा गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

यद्यपि, प्रयोगमा रहेका फोनमा हाल दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने प्राधिकरणले जानकारी गराएको छ। 

भ्रम ४ः अब फोन खरिद नेपालमा मात्र गर्न सकिन्छ

नेपालबाहिर खरिद गरिएका फोन अवैध हुने भएकाले फोन खरीद गर्दा अनिवार्य रूपमा नेपालमा मात्र गर्नुपर्ने हुन्छ भन्ने बुझाइ पनि जनमानसमा रहेको छ।

तथ्यः बाहिरबाट खरिद गर्न सकिन्छ, तर नेपालमा दर्ता गराउनुपर्छ 

नेपालमै भ्याट बिलसहित खरिद गरिएकोे मोबाइल फोनको आइएमइआई नम्बर प्रयोगकर्ताले दर्ता गराउनु पर्दैन। प्राधिकरणका अनुसार नेपालमा कानुनी रूपमा बिक्रेताले आयात गरेर बिक्री गर्ने मोबाइल फोनको आइएमइआई नम्बर प्राधिकरणले बिक्रेताबाटै संकलन गर्छ।

नेपाल बाहिरबाट पनि मोबाइल फोन खरिद गर्न सकिन्छ, तर त्यसरी खरिद गरेर ल्याइएको मोबाइल फोनको आइएमइआई नम्बर भने प्रयोगकर्ता आफैंले एमडिएमएस प्रणालीमा सूचीकरण गर्नुपर्ने हुन्छ। नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर आफ्नो मोबाइल फोनको आइएमइआई नम्बर दर्ता गर्न सकिन्छ।

यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल फोनको आइएमइआई नम्बरसहित नागरिकता वा पासपोर्ट जस्तो कुनै परिचयपत्र पनि प्राधिकरणलाई अनलाइन माध्यमबाट बुझाउनुपर्छ।

यद्यपि, नेपालमै फोन खरिदका लागि प्रोत्साहन भने प्राधिकरणले गरेको छ।

‘नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमइआई दर्ता भएका मोबाइल सेट खरीद गर्न तथा अनिवार्य रूपमा भ्याट बिल लिई खरिद गरी अनावश्यक झन्झट एवं अन्योलबाट मुक्त हुन सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ,’ प्राधिकरणले जारी गरेको सूचनामा लेखिएको छ। 

Logo