वृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पानीको बाफ

वृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पानीको बाफ


वृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमा गेनीमेडमा पानीको बाफ रहेको स्वीडेनको केटिएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले पत्ता लगाएका छन्। 

हब्बल स्पेस टेलिस्कोपको अर्काइभ डेटासेट प्रयोग गरेर वैज्ञानिकले यस्तो पत्ता लगाएका हुन्। गेनीमेडको माथिल्लो सतहमा रहेको बरफ बाफ बन्ने गरेको तथ्य पत्ता लागेको हो। हब्बलले सन् १९९८ मा गेनीमेडको वरिपरि रहेको ‘अरोरल ब्यण्ड’को अल्ट्राभाओलेट फोटो खिचेको थियो। सुरुमा वैज्ञानिकले त्यस ब्यान्डलाई गेनीमेडको अक्सिजनले भरिएको वायुमण्डलसँग जोडेर हेरेका थिए। यद्यपि, त्यस धारणामा स्पष्टता भने थिएन।

यसअघि चिसो गेनीमेडको सतहमा तापक्रम माइनस ३ सय डिग्री फरेनहाइटसम्म पुग्ने हुनाले पानी तरल नभई बरफका रूपमा रहने मानिएको थियो। यद्यपि, अहिले भने धारणा फरक बनेको छ। दिउँसो गेनीमेडको सतहको तापक्रम बढ्ने र बरफ बाफमा परिणत हुने वैज्ञानिकको निष्कर्ष रहेको छ। यसरी ‘अरोरल ब्यान्ड’ का पछाडि बरफको वाष्पीकरण रहेको वैज्ञानिकको ठम्याइ छ। 

गेनीमेडमा सतहभन्दा १०० मिल तल समुद्र रहेको पनि वैज्ञानिकले अनुमान लगाएका छन्। गेनीमेड वृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामात्र नभई सौर्यमण्डलको ९ औँ ठूलो पिण्ड पनि हो। 

Logo