यी हुन् स्पेश स्टेशनका दुई नयाँ पाहुना जीव

यी हुन् स्पेश स्टेशनका दुई नयाँ पाहुना जीव


जुन ३ मा अन्तरिक्ष मिशनका लागि लन्च भएको स्पेशएक्स रकेट फाल्कन ९ (SpaceX Rocket Falcon 9)  ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (Inernational Space Station) मा दुई सूक्ष्म जीव लगेको छ। ती जीवहरु वाटर बियर तथा ग्लोइंग बेबी स्क्विड हुनेछन्।

यी जीवका अलावा कार्गो रिसप्लाई मिशनमा ७३०० पाउण्डभन्दा धेरै सामान छन् । जसमा क्रु सप्लाई, नयाँ सोलार प्यानल तथा भेहिकल हार्डवेयर हुनेछन् । वाटर बियर र ग्लोइंग बेबी स्क्विड भने ५००० तथा १२८ को संख्यामा हुनेछ। 

फ्लोरिडास्थित नासाको क्यानेडी स्पेश सेन्टरबाट लन्च भएको मिशनमा यी जीवहरु समावेश हुनुको कारण भने यसको विशेष क्षमताले गर्दा हो। अन्तरिक्ष यात्राले उनीहरुमा कस्तो प्रभाव पर्छ यसको अध्ययन तथा यसले मानिसको अन्तरिक्ष यात्रामा पर्ने प्रभाव तथा माइक्रोग्रयाभिटीको प्रतिकूल प्रभावको लागि उपयुक्त उपायको खोजी गर्न पनि यी जीवलाई अन्तरिक्ष यात्रामा लगिएको हो। 

टार्डीग्रेडस जसलाई वाटर बियर वा मास पिगलेटको नामले पनि चिनिन्छ। यस सुक्ष्म जीवको आकार कहिले पनि १.५ मिलिमिटर भन्दा ठूलो हुँदैन। उक्त जीव असाधारण वातावरणमा पनि जीवित हुने क्षमता राख्छ। यो जीव यस्तो वातावरणमा पनि जीवित हुन्छ जहाँ अरु कुनै जीव जीवित रहन सक्दैनन्। 

महासागरको गहिराइ तथा पहाडको उचाइ साथै अत्याधिक घातक रेडिएशन तथा एकदमै हावा, पानी तथा खानाबिना पनि जीवित रहन सक्छ। 

सेप्टेम्बर २००७ मा जब यस जीवलाई अन्तरिक्षमा पठाइएको थियो, त्यसबेला अन्तरिक्षको निर्जन वातावरणमा पनि जीवित रहेर यसले आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ। 

अन्तरिक्षमा गएको दश दिनपछि यसका ६८ प्रतिशत नमूनाले रिहाइड्रेशनको ३० मिनेटमा जीवित भएर अलौकिक क्षमता प्रदर्शन गरेको थियो। 

नासाको एक प्रेस रिजिलमा अन्तरिक्षको त्यस्तो वातावरणमा समेत जीवित रहेर प्रजननसमेत गर्न सक्ने यस्ता वाटर बियरका बारेमा जान्न र केही तरिका सिक्न तथा यस्ता तरिकालाई अन्तरिक्ष यात्रीको सुरक्षाको लागि प्रयोग गर्न सकिन्छ कि भन्ने बारेमा नासा जिज्ञासु रहेको जनाइएको छ। 

वाटर बियरका अलावा ग्लोइंग बेबी स्क्विड पनि यसपटक अन्तरिक्षमा जानेवाला छ। यसको चम्किलो हुने विशेष क्षमता हुन्छ। जसका लागि यसभित्र रहने ब्याक्टेरिया जिम्मेवार हुन्छ। यसमा मानिसको जस्तै इम्युन सिस्टम हुने गर्छ। अन्तरिक्ष यात्रामा यसमा पर्ने प्रभावले मानिसमा हुने प्रभावका बारेमा अध्ययन गर्न सकिने हुँदा यसपटकको यात्रामा यो जीवलाई समावेश गरिएको हो।  

Logo