सरकारको राहतले ‘एसेम्बल’ गाडी उत्पादन उद्योगको उदय हुने नाडाको विश्वास

सरकारको राहतले ‘एसेम्बल’ गाडी उत्पादन उद्योगको उदय हुने नाडाको विश्वास


नाडा (अटोमोबाइल्स एशोसिएशन अफ नेपाल) ले सरकारले प्रतिस्थापन बजेटमा ‘एसेम्बल’ गरी गाडी उत्पादन उद्योगहरूको लागि राहत दिएको भन्दै बजेटको स्वागत गरेको छ।

राहतले एसेम्बल गरी गाडी उत्पादन उद्योगको उदय हुने नाडाले जनाएको छ।

आइतबार नाडा कार्यालयमा ‘प्रतिस्थापन बजेट’का विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न आयोजना गरिएको  प्रत्रकार सम्मलेनमा नाडाले यस्तो जनाएको हो।

देशको वर्तमान जटिल अवस्थामा पनि २०७८/०७९ को प्रतिस्थापन बजेट आउदा सरकारसँग ठूलो भरोसा राखेको जनाएको छ। 

झण्डै एक दशक अघिदेखि नै नाडाले बजेटसम्बन्धी सुझावहरूमार्फत निरन्तर रूपमा सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने ‘एसेम्बल’ उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएको थियो।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेटमार्फत ‘एसेम्बल’ गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले ‘अनएसेम्बल’ अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरेका छन्।

उक्त निर्णयले सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने अपेक्षा नाडाले राखेको छ।

तर, त्यस्ता सवारी साधनहरू उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालनका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरूको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने भन्दै सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्यागहरूलाई कुनै असर पर्न नहुने नाडाले जनायो। 

नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले मोटरसाइकलको अन्तशुल्कमा हुने परिवर्तनले भने प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पार्ने भएकाले सरकारले गत वर्ष कायम गरेको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताए।

अध्यक्ष दुलालले अब उद्योगीहरू अघि सर्नुपर्ने बेला आएको र अटो व्यवासायी तथा ग्राहक दुवैको हितलाई सरकारले मध्यनजर गर्नुपर्ने बताए।
 

Logo