असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने सरकारकाे तयारी

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने सरकारकाे तयारी


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ। विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिलेसम्म भए गरेका प्रगतिबारे जनचेतना फैलाउनका साथै देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कूटनीतिमार्फत पहल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो।

आज आयोजित पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधिसचिव डा सुरेश आचार्यले विज्ञान तथा प्रविधिका विभिन्न खोज अनुसन्धानकाका साथै आविस्कारबारे जानकारी गराउन दिवस मनाउन लागिएको बताए। सचिव आचार्यका अनुसार दिवसका अवसरमा वैज्ञानिक खोजमा संलग्न नवप्रतिभालाई प्रोत्साहनका साथै यस क्षेत्रमा योगदान गरेकालाई सम्मान तथा पुरस्कार वितरण गरिने छ। युवा जनशक्तिलाई स्वदेशमा रहेर रोजगारीको वातावरण सिर्जना गरि प्रतिभा पलायनको प्रवृत्तिलाई न्यूनीकरण गर्न दिवस उपयोगी हुनेछ।

‘विज्ञान र प्रविधिको उन्नत विकास: प्रकोप र महामारीबाट सहज निकास’ भन्ने मूल नाराका साथ मनाइने दिवसमा विज्ञान पत्रकारिता, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि र जैविक प्रविधिविधामा पुरस्कार घोषणा गरिने छ। विसं २०७० असोज १ देखि राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ। 

Skip This
Logo