‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ आज मनाइँदै

‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ आज मनाइँदै


आज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस। वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ।

शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो।

सन् २००१ मा युनेस्कोले आह्वान गरेको यस दिवस पहिलो पटक सन् २००२ मा विश्वभर मनाइएको थियो। त्यसयता निरन्तररूपमा मनाइँदै आइएको यो दिवस विश्वव्यापी रुपमा मानवजाती र यसको अस्तित्वसँग सम्बन्धित विषयलाई विज्ञानसँग जोडेर शान्ति स्थापना र दिगो विकासमा केन्द्रित छ।

मानव जाती अहिले प्रविधि विकासको उच्च विन्दुमा रहे पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा वा हेल्चेक्रयाइँ गर्दा हाम्रै अस्तित्व संकटमा परेको छ। साथै प्रविधि विकासमा अब्बल सावित भएका राष्ट्रहरू पनि वातावरणीय र पर्यावरणीय संरक्षणमा उदासीन हुँदा मानव जातीसँगै पृथ्वीकै अस्तित्व संकटमा परेको कुरा पछिल्लो समय वातावरणमा देखिएको अप्रत्यासित परिवर्तनले पुष्टि गरेको छ।

पृथ्वीमा रहेका हरेक प्राणीको लागि जलवायुमा भइरहेको परिवर्तन गम्भीर खतराको रूपमा देखापरेको छ। हामीले सामना गरिरहेको केही विश्वव्यापी चुनौतीलाई विज्ञान, प्रविधिद्वारा सम्भव हुन सक्ने सम्भावित समाधानहरूलाई हामीसामु ल्याउने प्रयत्न यस दिवसले गरेको छ।

Logo