बागलुङमा नास्टको विज्ञान मेला सुरु

बागलुङमा नास्टको विज्ञान मेला सुरु


बागलुङमा विज्ञान मेला सुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिएको हो। नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर ल्याउन तथा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस वर्षको विज्ञान मेला बागलुङमा सोमबारदेखि सुरु भएको छ। 

बागलुङकै जेठो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयमा आयोजित विज्ञान मेलाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नास्टले यस वर्ष विज्ञान मेलाका लागि बागलुङलाई छनोट गरेकोमा धन्वयाद दिँदै विज्ञान मेलाको यहाँका विद्यार्थीले भरपूर फाइदा उठाउने बताए। 

वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा लागेका विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि प्रत्येक वर्ष विभिन्न स्थानमा विज्ञान मेला आयोजना गर्दै आएको नास्टले यस वर्ष विद्यालयस्तरीय प्रतियोगितात्मक विज्ञान मेला बागलुङमा आयोजना गरेको नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्रवर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्राचार्यले जानकारी दिइन्।

बागलुङ, पर्वत र म्याग्दीका १० सामुदायिक विद्यालयका ७० विद्यार्थीको वैज्ञानिक आविष्कार तथा क्षमता प्रदर्शन गर्ने, विज्ञानसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता र समाजका लागि विज्ञान विषयमा कविता वाचन गर्ने गरी विज्ञान मेला आयोजना गरिएको हो।

विज्ञान मेलामा १० विद्यालयले धुवाँरहितको समार्ट सिटी, पानी तान्ने पम्प, रोबर्टलगायतका वस्तु बनाएर प्रदर्शनीमा राखेका छन्। तीन दिनसम्मको विज्ञान मेलाबाट उत्कृष्टलाई पुरस्कार प्रदान गरिने छ। नास्टले आयोजना गरेको विज्ञान मेलामा बागलुङका छ, पर्वतका दुई र म्याग्दीका दुई सामुदायिक विद्यालयका विद्यार्थीले उल्लासपूर्वक सहभागिता जनाएका छन्। 

फाइल फाेटाे

Logo