९ जेठ २०७९ सोमबार
1
1
1
1

क्यान इन्फोटेक तेश्रो दिनः खराब मौसमका बाबजुद अवलोकनकर्ताको आकर्षण बढ्दो

1
1
1
1
1
1

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको तेश्रो दिन खराब मौसमका वाबजुद अघिल्लो २ दिनको तुलनामा अवलोकनकर्ताको आकर्षण बढ्दो रहेको छ।  

विगतका इन्फोटेकहरूमा कम्प्युटर, ल्यापटप, मोबाइल र अन्य आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य भीड देखिने गरेको भए पनि यो इन्फोटेकमा आईसीटी एक्सेसेरिजका स्टलभन्दा ब्राण्डिङ, फिनटेक, स्टार्टअप, इन्नोभेसन तथा प्रडक्ट लञ्चिङमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ । विशेषगरी शुक्रबार आईएमई–पे, सनवे कलेज, भायनेट, वर्ल्डलिंक, नमस्ते–पे, एससीटी स्मार्ट क्यूआर, डिशहोम फाइबर नेट, नेपाल क्लियरिङ हाउस (एनसीएलएल) र सफ्टवेरिका कलेजका स्टलहरूमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति थियो। त्यस्तै सनराइज बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकका स्टलमा पनि अवलोकनकर्ताको भीड लागेको छ । 

क्यान इन्फोटेकको २७ औं संस्करणको प्रमुख प्रायोजक आईएमई–पेले आफ्नो स्टलमा निःशुल्क भिसा कार्ड उपलब्ध गराउनुका साथै आईएमई–पे वालेटमा भएको ब्यालेन्समा वार्षिक ६ प्रतिशत ब्याज पनि दिने ब्यवस्था गरेका कारण अवलोकनकर्ताको आकर्षण देखिएको हो। यसैगरी क्यान इन्फोटेकको इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेजले आफ्नो स्टलमा आफ्ना विद्यार्थीहरुद्वारा निर्मित सेन्सेरमा आधारित इन्नोभेसनहरु राखेका कारण अवलोकनकर्ताको भिड देखिन्थ्यो । 

क्यान इन्फोटेक शुरु भएका दिन देखिनै वर्षाका कारण प्रदर्शनीमा अवरोध भए पनि नेपाल सरकार एवं निजी क्षेत्रका उच्च पदस्थ कर्मचारी, कलाकार एवं सर्बसाधारणको प्रदर्शनीमा चासो देखिएको छ । शुक्रवार कलाकार स्वस्तिमा खड्का र निश्चल बस्नेतले भृकुटीमण्डपमा क्यान इन्फोटेक अवलोकन गर्दै विगत २७ वर्षदेखि क्यान महासंघले नेपालका सूचना तथा संचार प्रविधिसम्बन्धि ब्यवसायीहरुलाई प्लाटफर्म उपलब्ध गराउँदै देशको सूचना तथा संचार प्रविधिको विकाशमा पुर्याएको योगदानको प्रसंशा गरे ।  

‘विगतमा धेरै मानिसहरू सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोडिनुभएको थिएन । त्यतिबेला सामान्यतः आईसीटी एक्सेसेरिज कस्तो आकार वा प्रकारमा आयो र कति सस्तो वा महङ्गो भयो भन्नेमा मात्रै उहाँहरूको चासो हुने गर्दथ्यो,’ आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरले भने, ‘यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक छ । आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहना अनुसारका प्रविधि प्रदर्शन गरिएका छन् । यसले एसेसेरिज खरीदमा भन्दा प्रविधिको प्रयोगले कसरी जीवन सहज हुन्छ भन्ने ज्ञान लिन मानिसहरू उत्सुक भएको मैले पाएको छु ।’ खासगरी कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको अध्यक्ष कुँवरको भनाइ छ । 

यो पटकको इन्फोटेकमा वर्षाले बारम्बार अवरोध पुर्याएको उल्लेख गर्दै क्यान महासंघका महासचिव नारायण थापाले देशको संघिय राजधानीमा निजी क्षेत्रले वर्षौंदेखि स्थायी संरचनासहित अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनी हलको ब्यवस्था गर्न संघिय एवं स्थानीय सरकारलाई अनुरोध गर्दा पनि सम्बन्धित सरकारहरुवाट बेवास्ता गरिएको बताए । वर्षौं अगाडि छिमेकी राष्ट्र भारतले बनाइदिएको प्रदर्शनी हल आवश्यकता अनुरुप मर्मत नगरिएको, प्रदर्शनी हल तथा बाहिरको खुला स्थानको भाडादर महंगो रहेको तथा ती स्थानहरुमा प्रदर्शनीका निम्ति अस्थायी संरचना बनाउनु खर्चिलो तथा झन्झटिलो रहेको बताउँदै भृकुटीमण्डपमा रहेको स्थान निजी क्षेत्रलाई प्रदर्शनी र सम्मेलन केन्द्रको निम्ति निस्चित समयका लागी दिइनुपर्ने महासचिव थापाले बताए । 

आगामी सोमबारसम्म जारी रहने इन्फोटेकको शीर्ष प्रायोजन (Title Sponsor) आइएमइ-पे ले गरेको छ भने सह-प्रायोजक (Associate Sponsor) एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ । प्लाटिनम प्रायोजक-वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक-डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा - जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा - नमस्ते पे, डिजिकम, एस-पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका छन् । 

त्यसैगरी इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनर (Academic Partner) को रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब (x-Lab), इकमर्स पार्टनर (eCommerce Partner ) सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनर (Digital Display Partner ) को रुपमा अल्ट्रा एल.इ.डि. (Ultra LED) रहेका छन । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रुपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् । 

इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएशन अफ नेपाल लगायत अन्तर्राष्ट्रिय संस्था एसोसियो र विट्सा लगायतको सहयोग रहेको छ ।  

फ्रान्सको उच्चस्तरीय प्राइमेसी -२ कार्ड प्रिन्टर नेपालमा 

फ्रान्सको एवोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी -२ कार्ड प्रिन्टर भृकुटीमण्डपमा भइरहेको क्यान इन्फोटेक २०२२ मा आयोजित कार्यक्रमवाट विक्रिको सुरुवात गरिएको छ। शुरुवाती कार्यक्रममा क्यान महासंघका प्रतिनिधि लगायत सुचना प्रविधि सम्बन्धि विभिन्न कम्पनीका प्रतिनिधीहरुको उपस्थिति थियो। 

बारकोड नेपालले उक्त कम्पनीका उत्पादनहरू सन् २००८ बाटै नेपालमा बिक्री वितरण गर्दै आएको छ। हालै बिक्रीमा ल्याएको प्राइमेसी -२ कार्ड प्रिन्टरबाट मध्यम र ठुला कार्यालयहरूको आइडी कार्ड, भिजिटर कार्ड, प्रिभिलेज कार्डहरू तत्काल कार्यालयमै छाप्न सकिने बताइएको छ । यसले प्रतिघण्टा २ सय ८० वटा रङ्गिन कार्ड छाप्न सक्ने तथा यस प्रिन्टर मा युभी प्रिन्टिङ, रि-राइटेबल कार्ड प्रिन्टिङ, डबल ले, ओभरले जस्ता विशेष कार्डहरू छाप्ने प्रविधि प्रयोग गरिएको एवं यसमा एक सय वटा कार्ड राख्न मिल्ने ठूलो हुपर राखिएको बताइएको छ। 

प्राइमेसी -२ मा ल्यामिनेटर जोडेर एकै पटक ल्यामिनेटेड कार्ड उत्पादन समेत गर्न सकिने, यस सेरिजमा बैंकिंग कार्डहरू छाप्न आवश्यपर्ने इन्कोडरहरु जडान गर्न मिल्ने गरी डिजाइन गरिएको तथा नेपालमा विभिन्न बैङ्क, सरकारी आयोगहरू, सरकारी कार्यालयहरू लगायत स्कुल, कलेज, अस्पतालहरूमा प्रयोग भइरहेको बताइएको छ । 

विज्ञान-प्रविधि

प्रकाशित: ९ बैशाख २०७९ २१:२८ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी