राष्ट्रपतिलाई ‘बेलायती महारानी’ बनाउन खोजियोः देउवा

राष्ट्रपतिलाई ‘बेलायती महारानी’ बनाउन खोजियोः देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको आरोप लगाएका छन् । संसदीय दलका नेता समेत रहेका सभापति देउवाले संघीय संसदको बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रममा राष्ट्रपतिको सम्बोधनलाई बेलायती महारानीको शैलीको संज्ञा दिए।

‘राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ,’ देउवाले भने, ‘यो लोकतान्त्रिक गणतन्त्रका लागि राम्रो संकेत होइन।’ देउवाले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दै विपक्षमा मतदानका लागि आफ्ना सांसदलाई निर्देशन दिए।

उनले सरकार संघीय व्यवस्थाको मर्म र भावनाअनुसार क्रियाशील हुन नसकेको आरोप लगाए। प्रेस तथा अभिव्यक्ति स्वत्तन्त्रतामा नियोजित हमला गरेको टिप्पणी गरे। ‘उपलब्धि भनेर ल्याएको फेहरिस्त खोक्रो सावित भएको छ,’ देउवाले भने, ‘नीति तथा कार्यक्रममा जनताको लोकतन्त्र भनेको छ। जबकी लोकतन्त्र आफैंमा पूर्ण हुन्छ।’

उनले मेलम्ची आयोजना पूरा नभएको, माथिल्लो तामाकोसी आयोजना सम्पन्न नभएकोमा प्रश्न उठाए। ‘सम्पन्न भैसक्नुपर्ने माथिल्लो कहिले बन्छ टुङ्गो छैन,’ देउवाले भने, ‘कांग्रेस सरकारले सुरु गरेको भेरी बबई आफैंले सुरू गरेको जस्तो गरी प्रस्तुत भएको छ। बुढीगण्डकीमा घात र खेलबाड गरिएको छ।’

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक वर्षमा एउटा पनि रोजगारी श्रृजना नभएको बताए। ‘सामाजिक सुरक्षा ऐन आफैंले ल्याए जसरी प्रस्तुत गरियो तर कार्यान्वयन गर्नेमा कुनै कदम चालेको छैन,’ देउवाले भने, ‘महिलालाई ठोस रोजगार कार्यक्रम छैन।’

उनले भ्रष्टाचारको तानाबाना यही सरकारले बुनेको आरोप लगाए। ‘भएका विश्वविद्यालयलाई साधन स्रोत दिन नसकेको बेला नयाँ थप्ने भनिएको छ,’ देउवाले रेलबारे समेत प्रश्न उठाउँदै सोधे, ‘सम्भाव्यता, लागत, लाभ र स्रोतको व्यवस्थाबारे सरकार आफैं अनभिज्ञ छ।’

चीन र भारत जोड्ने रेलमार्ग अनुदानमा मात्र निर्माण हुनुपर्ने उनले टिप्पणी गरे। ‘भारतबाट नेपालसँग एउटा जलमार्ग जोडिन पनि बाँकी तर प्रधानमन्त्रीले अहिले नै पानी जहाज आएको झैं सपना बाँडिएको छ। राणाकालदेखि चलेको स्टिमरलाई नयाँ आविस्कारका रूपमा प्रचार गरिएको छ,’ देउवाले टिप्पणी गरे।

Logo