नेपालमा आजसम्म १ हजार ५२९ वटा नमुना परीक्षण

नेपालमा आजसम्म १ हजार ५२९ वटा नमुना परीक्षण


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको पुष्टि गरेका हुन् । सरकारले अन्त्रराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

डाक्टर देवकोटाले आइतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाडौ बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि भइरहेको जानकारी दिए । उनले चितवनमा नमुना परीक्षण टेष्टको काम भइरहेको र बुटबलमा सोमबारदेखि सुरु हुने बताए । काठमाडौमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेसनमा छन् । मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन् । आइतबार मात्रै १ हजार ८१२ जनाले व्यक्तिगत विवरण भरेको र ती मध्ये २४ वटा विवरण रेड जोनमा परेका छन् । यो सँगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ ।

उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्यारेन्टाइनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्यापिट टेष्टबाट कोभिड १९ को परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशन अनुसार सम्बन्धीत निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी दिए ।

क्वारेन्टाइनको गुणस्तर कायमका लागि सरकारले बनाएको मापदण्ड अनुसार हुनुपर्ने र सो भए नभएको अनुगमन भइरहेको पनि उनले स्पष्ट पारे । उनले अझै पनि विरामीहरुले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम नरोकिएको भन्दै आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई पुनः सचेत गराए ।

Logo