स्वास्थ्य शिविरमा ३४ हजारभन्दा बढी लाभान्वित

स्वास्थ्य शिविरमा ३४ हजारभन्दा बढी लाभान्वित


काठमाडौं ।

नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क शल्यचिकित्सासहितको स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

गत मङ्सिर २७ गतेदेखि आइतबारसम्म शिविर सञ्चालन भएको थियो । खखना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविर समापन समारोहमा नेपाली सेनाका सहायक रथि डा देवेन्द्रबहादुर खत्रीले उपचार सेवा लिनेमा १७ हजार ९७३ महिला र १४ हजार १६४ पुरुष रहेका र दुई हजार ३५ ले परामर्श सेवा लिएका जानकारी दिए ।

शिविरमा १९३ पुरुष र १३६ महिला गरी ३२९ जनाको जटिल शल्यक्रिया भएको र ६० लाख मूल्य बराबरको औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइएको थियो । शिविरका सूचना अधिकारी सेनानि नवीन कुँवरले शिविरमा सेवा लिन आउने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिएको वताए ।

समापन समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत नेपाली सेनाले ग्रामीण विपन्न वर्गका जनतालाई घर आगमनमा स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद दिए । शिविरमा नेपाली सेनाका ६० जना दक्ष विशेषज्ञ चिकित्सक र १०५ स्वास्थ्यकर्मी (नर्स पारामेडिकल र ल्याब टेक्निसियन) सहित १६५ जनाको टोलीले उपचार सेवा प्रदान गर्नुभएको थियो ।

शिविरमा महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा, उदयपुर, सिरहा, रौतहट, सिन्धुली र सप्तरीका बिरामीले उपचार सेवा प्राप्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सुरेन्द्रकुमार यादव र प्रदेशसभा–२ का सदस्य कौशलकुमार यादवले सेनाले दिएको सेवाको प्रशंसा गरेका थिए ।

Logo