शान्ति प्रक्रियालाई टुङ्ग्याउन सबै दल एक मत छन्ः अर्थमन्त्री महत

शान्ति प्रक्रियालाई टुङ्ग्याउन सबै दल एक मत छन्ः अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा सर्वदलीय बैठकमा छलफल भएको बताएका छन् । 

आज प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसंग अर्थमन्त्री महतले सबै दल शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा एक मत रहेको बताएका हुन् । उनले भने, ‘शान्ति प्रक्रिया छिटो टुङ्गो लगाउने कुरामा एकमत छ, लोकतान्त्रिक मूल्य र मान्यता र लामो संघर्षबाट यो संविधान बनेको हो । त्यससलाई रक्षा गर्ने कुराहरु र महत्वपूर्ण मुद्दाहरुमा सँगै अगाडि बढ्ने, साझा धारणा बनाउने कुरामा नै छलफल भयो र यी कुराहरुमा सबै नेताहरुको एकमत छ ।’

त्यस्तै, अर्थमन्त्री महतले वाक स्वतन्त्रताको नाममा भएको मनपरी र व्यवस्थाप्रतिको प्रहारप्रति सबै दल गम्भीर बनेको बताए । ‘त्रासको कुरा छैन् लामो संघर्षबाट लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित यो संघीय लोकतान्त्रिक व्यवस्था संविधानले निश्चित गरेको छ । यसले सम्पूर्ण अधिकार जनताका अधिकारहरु सुनिश्चित गरेको छ । यही व्यवस्थाको विरोध गर्नेहरुले पनि प्रणालीले दिएको अधिकार त्यो कारणले उपयोग गर्न पाएको अवस्था हो ।’ उनले भने, ‘निर्वाद रुपमा सबै जनताले बोल्न पाउँनु पर्छ तर त्यसको दुरुपयोग गर्ने आधारहीन कुराहरु यी प्रवृति उपयुक्त होइन, भन्ने कुरा पनि उठेको छ । यो प्रवृति राम्रो होइन ।’

अर्को प्रशंगमा उनले अर्थतन्त्रमा विस्तारै सुधार हुँदै गएको दोहोर्याए । उनले भने ‘अर्थतन्त्र विस्तारलाई  सुधार भएको छ, रातारात यसमा सुधार हुन्छ भन्न मिल्दैँन् तर सकारात्मक रुपमा यसमा सुधार भईरहेको छ । हामीले सबै कुराहरु एकै दिनमा हुनुपर्छ भनेर अपेक्षा गर्नु र त्यो भएन भने केही भएन भनेर सम्प्रेषण गर्ने प्रवृत्ती गलत हो र सुधारतर्फ अर्थतन्त्र जाँदैछ ।’

Logo