नासाले स्पेश स्टेशनमा पठायो चार जना अन्तरिक्ष यात्री

नासाले स्पेश स्टेशनमा पठायो चार जना अन्तरिक्ष यात्री


नासा तथा अरबपति व्यापारी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेश एक्सले इन्टरनेशनल स्पेश सेन्टरमा चारजना नयाँ अन्तरिक्ष यात्री पठाएको छ। स्पेश सेन्टरमा क्रु १ का सदस्य पहिलेदेखि नै काम गरिरहेका छन्।

नयाँ अन्तरिक्ष यात्री पुगेपछि ६ महिना पहिलादेखि स्पेश सेन्टरमा रहिरहेका सदस्य भने २८ अप्रिलमा फर्कनेछन्। हाल अन्तरिक्ष पुगेका नयाँ चार जनाले ६ महिनासम्म स्पेस स्टेशनमा रही विभिन्न वैज्ञानिक परीक्षण गर्नेछन्। नयाँ  अन्तरिक्ष यात्रीहरुमा एकजना  महिला पाइलट मेगन मैकआर्थर पनि रहेकी छन्।

गत  वर्ष उनका पति बबि ब्हेनकेन स्पेश एक्सबाट नै अन्तरिक्षमा गएका थिए। यसपटक दुई अमेरिकन, एक जापानीज तथा एक फ्रान्सेली अन्तरिक्ष यात्री स्पेश सेन्टरमा पुगेका छन्।

उनीहरुलाई स्पेश सेन्टरमा पहिलेदेखि काम गरिरहेका नासाका तीनजना, एक जापानीज तथा दुई जना रुसका यात्रीले स्वागत गरेका थिए । हालका चार सदस्य पुगेपछि स्पेश सेन्टरमा अन्तरिक्ष यात्रीको संख्या ११ हुनेछ।

स्पेश सेन्टरमा पुग्नका लागि उनीहरुलाई २३ घण्टा भन्दा बढी  समय लागेको थियो । पहिले यी चार यात्रीलाई अप्रिल २० मा पठाउने कार्यक्रम थियो। तर, खराब मौसमका कारण उनीहरुको उडान एक दिन पर धकेलियो।

स्पेश एक्सले क्याप्सुल तथा रकेट दुवैलाई दोस्रोपटक प्रयोग गरेको यो पहिलो घटना हो । यस क्याप्सुललाई स्पेश एक्सले गत नोभेम्बरमा अन्तरिक्ष यात्राको लागि प्रयोग गरेको थियो।

Logo