भदौ ३१ देखि जजिराले भैरहवा विमानस्थलबाट उडान गर्ने

भदौ ३१ देखि जजिराले भैरहवा विमानस्थलबाट उडान गर्ने


कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ । गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजिराले आगामी भदौ ३१ देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजिराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । एयरवेजले अहिले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ ।

यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु सङ्ख्या बढ्ने प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको एयरवेजले जनाएको छ । कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र युरोपमा उडान सञ्चालन गर्दै आएको छ ।

जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

बिज एयरले उडान गर्दै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधावीमा उडान भर्ने प्राधिकरणले जनाएको छ ।

हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ । योसँगै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने दुई एयरलाइन्स पुग्ने छन् ।

मुलुकको प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अन्तर्राष्ट्रियतर्फ हाल तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

Logo