सूर्यविनायक नगरपालिकाले झोलुङ्गे पुल तरेको २० रुपैयाँ उठाएपछि विरोध

सूर्यविनायक नगरपालिकाले झोलुङ्गे पुल तरेको २० रुपैयाँ उठाएपछि विरोध


सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क लिने गरेको छ ।  

नगरपालिकाको वडा नं ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपियाँ उठाउने गरिएको छ । दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लिएपछि विरोध भएको छ । सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपैयाँको लागतमा पुल निर्माण गरेको थियो । 

पुल निर्माण गरिएको वडा नं ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने र सूर्यविनायक नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत छुट दिइएको छ । सो क्षेत्रको अवलोकन गर्न सार्वजनिक बिदामा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउन न्यून शुल्क लिनु परेको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए । 

सार्वजनिक बिदामा अत्यधिक भीड हुने भएकाले सो भीड व्यवस्थापनका लागि रकम उठाइएको भनाइ नगरपालिकाको छ । पुल निर्माण भएपछि पर्यटक आवागमनमा निकै वृद्धि भएको स्थानीय व्यवसायी बताउँछन्। नगरपालिकाले ध्याम्पेडाँडा र नैचालडाँडा जोड्ने ५४७ मिटर लामो झोलुङ्गे पुल बनाउन सङ्घीय सरकारलाई अनुरोध गरेको छ । 
 

Logo