वीरगञ्जमा जथाभाबी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा

वीरगञ्जमा जथाभाबी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा


 के तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभाबी फोहर त फाल्दै हुनुहुन्न ? यदि जथाभाबी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ।

मधेस प्रदेशको एक मात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाइसँगै जथाभाबी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।

महानगरका सडक तथा गल्लीमा जथाभाबी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याल्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए ।

‘जथाभाबी फोहर फाल्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन’, सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले भने, ‘जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृतरुपमा घटेको छैन।’त्यसैले अब फोहर फाल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उनले बताए ।

गत पुस १७ गतेदेखि हालसम्म जथाभाबी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी तीन सय ६२ जनाबाट महानगरले रु आठ लाख ७१ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ ।

‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने प्रवृत्ति छ’, मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।

महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ ।

विगतमा डम्पिङसाइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङसाइड बनाएपछि फोहरमैला व्यवस्थापनमा कुनै अहिले कुनै समस्या नरहेको उनले बताए ।

विगत केही वर्ष अघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।

केही वर्ष अघिसम्म अतिक्रमण र फोहरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, बिर्ता, माईस्थानलगायतका सडक सफा र सुन्दर भएका छन् । आर्थिक राजधानीको रूपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवर्द्धनका लागि नगर क्षेत्रको सरसफाइलाइ उच्च प्राथमिकतामा राखेर काम थालेको नगरप्रमुख राजेशमान सिंहले बताए ।

‘बढ्दो जनघनत्व र सडकमै फोहर फ्याल्ने प्रवृत्तिका कारण नगर क्षेत्र दुर्गन्धित र फोहर देखिएको थियो’, नगरप्रमुख सिंहले भने, ‘फोहर व्यवस्थापन गरी वीरगञ्जलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु ।’बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण वीरगञ्ज महानगरपालिकामा दैनिक फोहर उत्पादन बढ्दै गएको छ ।

Logo