के हो पिंक टुरिज्म ? के नेपालमा संभव छ ?

के हो पिंक टुरिज्म ? के नेपालमा संभव छ ?

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । पर्यटनका विभिन्न आधार र आयामहरू छन् । नेपालमा प्रकृति, संस्कृति, पर्वतीय हिमश्रृखंलामार्फत पर्यटनको विकास भइरहेको छ ।

पछिल्लो समय उदार नेपाली समाजको फाइदा उठाउँदै ‘एलजीबीटीआईक्यू प्लस’अर्थात् यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू ‘पिंक टुरिज्म’को प्रवर्द्धनका लागि आकर्षित भएका छन् ।

प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैङ्गिक पहिचान स्थापित भइसकेको कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू ‘पिंक टुरिज्म’मार्फत पर्यटन प्रवर्द्धमा जुटेका हुन् । दक्षिण एसियामै नेपालको संविधान उदार मात्र बनेन लैङ्गिकताका आधारमा विभेद गर्न नपाउने भएकै कारण नेपाल विस्तारै ‘पिंक टुरिज्म’, ‘रेन्बो टुरिज्म’ अर्थात इन्द्रेणी पर्यटनको हब बनाउनेगरी अभियन्ताहरूले प्रयास थालेका छन् ।

गुलावी वा इन्द्रेणी रंगलाई साझा रंगका रूपमा स्वीकारिएका कारण पिंक टुरिज्मको अवधारणा विश्वव्यापी रूपमै फस्टाउँदो छ । पछिल्ला वर्षहरू नेपालमा पिंक टुरिष्टका लागि सहज गन्तव्य बन्नसक्ने भन्दै व्यवसायी र सरकारले समेत पिंक टुरिज्मलाई प्राथमिकता दिएका छन् । समुदायका युवाहरू पनि यसमा भविष्य देख्न थालेका छन् ।

नेपालले स्पेन, थाइल्याण्ड, ताइवान, भियतनाम, इन्डोनेसिया, अष्ट्रेलियामा जस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूलाई पर्यटकका रूपमा भित्र्याएर अर्थतन्त्रमा नयाँ इँटा थप्ने प्रयासमा छ । नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटकहरू नेपालका पर्यटकीय गन्तव्यहरूलाई सुरक्षित र स्वागतयोग्य रहेको बताउँछन् ।

नेपालका व्यवसायिक एजेन्सीमार्फत अग्ला हिमाल र सगरमाथा आरोहण गरेका कतिपय आरोहीहरूले एलजीबीटीआईक्यूको साझा इन्द्रेणी झन्डा चुचुरोमा फहराएर नेपाल एलजीबीटीआईक्यूमैत्री घुम्न लायक देश भनेर सार्वजनिक रूपमै सन्देश प्रवाह गरिरहेका छन् ।

‘पहिलेदेखि नै नेपालमा त्यो किसिमका पर्यटकहरू आइरहेका छन् । उनीहरू नेपालमा बढी खर्च गर्न सक्ने र मनोरन्जन गर्ने गरेको पाइन्छ । यसका लागि हामीले सम्बन्धित समुदायका व्यक्तिहरूलाई गाइड तालिम दिएर यसको अवधारणा विकास गर्दै टुर गाइडहरूलाई प्रोत्साहित गरेका छौँ । पिंक टुरिज्म र सम्बन्धित समूहका पर्यटकहरूको गाइडहरूले आफैँ पनि व्यवसाय गर्ने इच्छा राख्नुभएको छ । यसका लागि बोर्ड पहिलो प्राथमितामा पर्यटक गाइडहरू तयार गर्दै प्रवर्द्धमा इच्छुक छ,’ उनले भने ।

अभियन्ता सुनिलबाबु पन्त यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू संस्कृति, कला र समाजमा रमाउने भएकाले पर्यटनको माध्यमबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिन, स्थानीय प्रतिष्ठानहरूका लागि व्यापार बढाउन र रोजगारी सिर्जना गर्न मद्दत गर्दै ‘पिंक मनी’ भित्र्याउन सहयोगी बन्नसक्ने भएकाले पिंक टुरिज्मका लागि नेपाल भर्जिन ल्याण्ड बन्नेमा ढुक्क छन् ।

नेपालका हरेक तहले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूलाई केन्द्रीत पर्यटकीय गतिविधि, मेला, महोत्सव आयोजना गर्दै समावेशिता र विविधतालाई बढवा दिनसक्नुपर्ने पन्तको सुझाव छ ।

‘नेपालमा २३ वर्ष लगाएर यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकार प्राप्त भएको छ । छिमेकी देशहरू भारत र चीनमा अधिकार नपाएको समलिङ्गी विवाह दर्ताका कारण दक्षिण एसियामा पहिलो देश बनेको छ । विश्वभर नेपालको सकरात्मक सन्देश फैलिएको छ । अब आर्थिक र पर्यटकीय रूपमा अघि बढ्न हामी सबैले भूमिका खेल्नुपर्छ,’ उनले भने ।

गत वैशाख २३ गतेदेखि जेठ २६ गतेसम्म नेपाल पर्यटन बोर्डले सस्टेनेबल टुरिज्म फर लाइभलीहुड रिकभरी परियोजना (एसटीएलआरपी) अन्तर्गत यूएनडीपी नेपालको सहयोग तथा नेपाल माउन्टेन एकेडेमीसँगको सहकार्यमा नेपालको इतिहासमै ३५ दिने ट्रेकिङ गाइड कक्षा सञ्चालन गरेको थियो । जसमा ब्लु डाइमन्ड सोसाइटीका २५ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरू सहभागी भएका थिए । तालिमको उद्देश्य समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउने, विश्वबाट आएका एलजीबीटीआइक्यू पर्यटकलाई समुदायकै गाइडबाट सेवा दिने थियो ।

‘धेरैजसो एजेन्सी, पर्यटन व्यवसायी र सरकारका प्रतिनिधिहरूले समेत नेपालमा भिन्न यौन झुकाव तथा लैंगिक पहिचान भएका पर्यटक आउने गरेको र उनीहरूले भिन्न पहिचानकै गाइडहरू खोज्ने गरेको सुनाउनुहुन्थ्यो । अब तालिम लिइसकेपछि त्यस्ता पर्यटकहरूका लागि आफ्नै समुदायका व्यक्ति गाइड भए यात्रा सहज हुने अपेक्षा गरेका छौँ,’ ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले भनिन् ।

सन् २०१३ मा अमेरिकी समलिङ्गी नागरिक केसन क्रेनले सगरमाथा आरोहण गरेर इन्द्रेणी झन्डा फहराएर विश्वमा नौलो सन्देश फैलाएका थिए । सन् २०१० मा शुरु भएको समलिङ्गी ट्राभल एजेन्सी ‘पिंक माउन्टेन’ले पिंक टुरिज्मलाई प्रवर्द्धन गर्ने प्रयास गरिरहेको छ ।

नेपालमा पछिल्ला वर्षहरू पर्यटकीय दृष्टिकोणले फलदायी बन्न थालेपछि ट्रेकिङ, टुर एवम ट्राभल एजेन्सीहरूले एलजीबीटीआईक्यूमैत्री सेवा पनि शुरु गरेका छन् । आफ्नो प्याकेजमा एलजीबीटीआईक्यू गाइड समावेश गर्ने र विदेशीहरूलाई नेपाल घुम्न आउन प्रेरित गरिरहेका छन् ।

नेपालका व्यवसायिक एजेन्सीमार्फत अग्ला हिमाल र सगरमाथा आरोहण गरेका कतिपय आरोहीहरूले एलजीबीटीआईक्यूको साझा इन्द्रेणी झन्डा चुचुरोमा फहराएर नेपाल एलजीबीटीआईक्यूमैत्री घुम्न लायक देश भनेर सार्वजनिक रूपमै सन्देश प्रवाह गरिरहेका छन् ।

सन् २०१३ मा अमेरिकी समलिङ्गी नागरिक केसन क्रेनले सगरमाथा आरोहण गरेर इन्द्रेणी झन्डा फहराएर विश्वमा नौलो सन्देश फैलाएका थिए । सन् २०१० मा शुरु भएको समलिङ्गी ट्राभल एजेन्सी ‘पिंक माउन्टेन’ले पिंक टुरिज्मलाई प्रवर्द्धन गर्ने प्रयास गरिरहेको छ ।

‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ यौनिक तथा लैङ्गिक अल्पसंख्यक अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन सम्पन्न समेत भइसकेको छ । खासमा पिंक पर्यटकहरुका लागि बोलिने भाषा, शब्द र सम्बोधन, गरिने व्यवहारले ठूलो अर्थ राख्ने गरेको, सामान्य महिला र पुरुषलाई सम्बोधन गर्दा प्रयोग हुने शब्द र यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई गरिने सम्बोधन फरक हुने भएकाले सोही अनुसारका गाइड आवश्यक पर्ने व्यवसायीको भनाइ छ ।

विश्वका विभिन्न देशबाट नेपाल घुम्न आएका एलजीबीटीआईक्यू प्लस समुदायका पर्यटकहरूलाई पथ प्रदर्शक वा गाइडका रूपमा काम गरिरहेका आयाम पौडेल नेपाल सरकारले पिंक टुरिज्मलाई प्रवद्र्धन गर्न सके ठूलो सफलता हासिल गर्नसक्ने बताउँछन् । पिंक टुरिज्म अर्थात एलजीबीटीआइक्यूमैत्री पर्यटन भनेको नेपालको संविधानले परिभाषित गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्रका व्यक्तिहरुलाई घुम्न वा यात्रा गर्न सहज बनाउनु रहेको पौडेलको भनाइ छ ।

नेपालमा गाइजात्रा पर्वका दिन समुदायले मनाउने ‘अन्तरराष्ट्रिय गाइजात्रा महोत्सव’ वा ‘प्राइड परेड’लाई स्वतन्त्रता र पर्यटन प्रवर्द्धका रूपमा हेर्ने गरिन्छ । विदेशमा पनि पिंक टुरिज्मका लागि भनेर विभिन्न फेस्टिभलहरू आयोजना गर्ने गरिएको छ ।

अष्ट्रेलियामा जनवरी वा फेब्रुअरी महिनामा संसारकै ठूलो प्राइड फेस्टिबल आयोजना गरिन्छ र पिंक टुरिज्मलाई प्रवर्द्धन गर्ने चलन छ । स्पेनमा बेग्लै फेस्टिबलसँगै भिन्नै होटल, रेष्टुरेन्ट, बार खुलेका छन् । समुदायका लागि मात्रै भनेर टुर, ट्राभल, ट्रेकिङ एजेन्सीहरू सञ्चालित छन् जसले ती मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुर्‍याएका छन् । थाइल्याण्ड र अष्ट्रेलिया पिंक टुरिज्मको हबका रूपमा विकसित हुँदै गइरहेको छ र त्यहाँको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटिरहेको छ ।

Skip This
Skip This
Logo