अब डिजिटल भुक्तानीका लागि ‘नमस्ते पे’

अब डिजिटल भुक्तानीका लागि ‘नमस्ते पे’


नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा स्थापित नेपाल डिजिटल पेमेन्ट कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनको अनुमति पाएको छ । नेपाल टेलिकमले पहिलेदेखि नै डिजिटल पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने तयारी गरे पनि यसमा वित्तीय क्षेत्रको आवश्यकता पर्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सेवा सुरु गरिएको हो ।

टेलिकम र वाणिज्य बैंकले सेवा सुरु गर्न २०७७ कात्तिकमा राष्ट्र बैंकमा आवदेन दिएका थिए । केन्द्रीय बैंकले २०७७ साल चैत ४ गते सेवा सञ्चालन अनुमति दिइसकेको छ, जसको नाम ‘नमस्ते पे’ राखिएको छ ।

‘नमस्ते प’ेमा नेपाल टेलिकमको मोबाइल नम्बरलाई डिजिटल वालेटका रूपमा प्रयोगमा ल्याइने छ भने उपभोक्ताले मोबाइल नम्बरमै बैंकमा जस्तै रकम जम्मा गर्ने जस्ता सुविधासमेत पाउन सक्नेछन् ।
‘नमस्ते पे’  मोबाइल वालेट डिजिटल फाइनान्सको विकसित र सरल प्रविधि हो, जसको प्रयोग गर्न इन्टरनेट र स्मार्ट मोबाइल आवश्यक पर्दैन। यसका लागि मोबाइलमा निश्चित अंक डायल गरेर भुक्तानी गर्न सकिनेछ। यो सिस्टममा क्युआर कोड र मोबाइल एप्सजस्ता अन्य सेवा सुविधासमेत समावेश गरिएको छ । 

कोभिड–१९ महामारीपछि डिजिटल भुक्तानीमा जनमानसको आकर्षण बढ्नुका साथै यसले समय र खर्च पनि न्यून गराएको छ । ‘नमस्ते पे’बाट इन्टरनेट र स्मार्ट फोन बिनै सहज रूपमा भुक्तानी हुने भएपछि डिजिटल कारोबार अझ बढ्ने अपेक्षा गरिएको छ । यसमा नेपाल टेलिकमको २५ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १५ करोड रुपैयाँ गरी ४० करोड रुपैयाँ चुक्ता पूँजी  छ । 

Logo