‘मे’ पहिलो सातादेखि सगरमाथा आरोहण सुरु हुँदै, पाँच आरोही समूहलाई अनुमति

‘मे’ पहिलो सातादेखि सगरमाथा आरोहण सुरु हुँदै, पाँच आरोही समूहलाई अनुमति


वसन्तयामको आरोहणलाई व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले विशेष सुधारात्मक कामका साथ सक्रियता बढाएको छ। साहसिक एवम् अति नै संवेदनशील मानिने सगरमाथा आरोहणलाई व्यवस्थित र गुणस्तरीय बनाउन विभागले आरोहण इतिहासमै पहिलोपटक चिकित्सकलाई सगरमाथाको आधार शिविरमै खटाएको छ। त्यसो त यसअघिका आरोहणमा पनि चिकित्सकको व्यवस्था हुने भए पनि उनीहरु सम्बन्धित स्थानमा पुग्दैन थिए। सम्पर्क अधिकृत पनि सम्बन्धित गन्तव्यमा नपुग्ने, बीचबाटै फर्किने लगायतमा समाचार आएका थिए।

हिमाल आरोहणका लागि उपयुक्त वसन्तयाममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन्। आरोहणमा देखिएका विभिन्न जटिलता र विकृतिलाई नियन्त्रण गर्न नियामक विभागले पर्वतारोहणलाई व्यवस्थित गर्ने भएको हो। विभाग, पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले यो वर्षको वसन्तयामको आरोहणमा सम्बन्धित क्षेत्रमै चिकित्सक रहने व्यवस्था मिलाइएको जानकारी दिइन्।

“सगरमाथा आरोहणलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय बनाउन हामीले विभिन्न व्यवस्थापन गर्ने क्रममा यो पटक सगरमाथाको आधार शिविरमै रहने गरी दुईजना चिकित्सक खटाइसकेका छौँ, उहाँहरु सम्भवतः त्यहाँ पुगिसक्नु भयो, अहिलेसम्मको आरोहण र अभिलेखलाई हेर्दा यो ऐतिहासिक काम भएको हामीलाई लागेको छ, आधार शिविरमै चिकित्सक राखेको अरू उदाहरण भेटेका छैनौँ”, उनले भनिन्।

विभागले स्वास्थ्य सेवा विभाग अन्तर्गतका दुई चिकित्सकलाई काजमा सगरमाथाको आधार शिविरमा खटाएको छ। विभागले पर्यटन ऐन र पर्वतारोहण नियमावली बमोजिम खटिने सम्पर्क अधिकृतलाई पनि व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक बन्दोबस्ती मिलाएको निर्देशक आचार्यले बताइन् । आरोहणका दौरानमा अन्य गतिविधि बढेकाले विभागले यस पटक तस्बिर र भिडियो खिच्न तथा त्यसलाई प्रकाशन÷प्रसारणमा कडाइ गरेको छ। आरोहीले हिमालमा आफ्नो आरोहण दलको गतिविधिलाई भने फोटो, भिडियोमा कैद गर्न सक्नेछन् तर ती सामग्री अन्य प्रयोजनका लागि पाइने छैन। आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि विभागबाट पूर्व जानकारी लिनुपर्नेछ। 

आरोहण दलको सङ्ख्या अनुसार सम्पर्क अधिकृत खटाइन्छ । एक आरोहण दलमा एक सम्पर्क अधिकृत खटिन्छन् । एकदेखि १५ जनाको आरोही दल हुन्छ। आरोहणमा खटिने सम्पर्क अधिकृतको अवधि पनि हिमालअनुसार फरकफरक हुन्छ। सगरमाथा (८,८४८.८६ मी) सहित आठ हजार मिटर अग्ला हिमालका लागि ७५ दिनका लागि सम्पर्क अधिकृत खटाइन्छ। उनीहरु आवश्यकता र मौसमको अनुकूलताअनुरुप खटिन्छन्। 

पर्वतारोहणसम्बन्धी नियमावली–२०५९ मा व्यवस्था भए अनुसार सम्पर्क अधिकृत आरोही दलसँगसँगै कार्यक्षेत्रमा खटिनुपर्ने भए पनि व्यवहारिकरुपमा आरोहीभन्दा केही समय ढिलो सम्पर्क अधिकृत खटिन्छन् । वसन्तयामको आरोहणका लागि स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिइरहेका छन्। अहिलेसम्म बाक्लै सङ्ख्यामा आरोहीले आरोहण अनुमतिका लागि निवेदन दिएको विभागले जनाएको छ। यो यामको आरोहण आगामी मेको पहिलो साताभित्र आरोहण सुरु हुने विभागको अनुमान रहेको निर्देशक आचार्यले बताइन्। 

वसन्त आरोहणका लागि अनुमति लिएका आरोही गन्तव्यतिर लागिसकेका छन् । आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ। आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन्। वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ। हालसम्म मनास्लु, लुबुचेलगायत हिमाल आरोहणका लागि आरोही समूह गन्तव्यतर्फ निस्किएका छन्। 
    
साहसिक पर्यटन आरोहणका क्रममा सम्पर्क अधिकृत खटाइएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको जनाउँदै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको छ। आरोहणका गतिविधिलाई प्रभावकारी नियमन र व्यस्थित गर्न खटिन सम्पर्क अधिकृतलाई विभागले विशेष जिम्मेवारीका साथ खटाउनेछ । 

आरोहणमा अनुशासन कायम गर्न अघिल्लो वर्षदेखि आरोहणमा सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रुपमा खटाइने गरिएको छ। कतिपय सम्पर्क अधिकृत सगरमाथाको आधार शिविरसम्म पनि नपुग्ने, बीच बाटोबाटै फर्कनेजस्ता समाचार बाहिर आएका थिए। सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् ।

सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ। अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ। नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन्।

सगरमाथा आरोहणको सलामी ऋतुअनुसार फरकफरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ। यस्तै, शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा रू ७५ हजार, शरद ऋतुमा रू ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ।

पाँच आरोही समूहलाई अनुमति

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ। यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन्। पर्यटन विभागले विभागले वसन्तयामको आरोहणका लागि पाँच आरोही समूहलाई ‘एक्सिपिडिशन पर्मिट’ दिएको छ। 

विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा दुई, सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) एक र गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहणका लागि दुई समूहलाई अनुमति जारी गरेको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए। उनका अनुसार आरोहणकै लागि अहिले विभागमा ५५ भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले विभागसमक्ष निवेदन दिएका छन्। 

मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ सुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ। कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन्। बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ। यस वर्ष वसन्तयाममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएर आवश्यक बन्दोबस्ती मिलाइरहेको छ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ। कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ सुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन्। असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ।रासस

Logo