पर्यटककाे राेजाइ बन्दै आँधिमूल मन्दिर

पर्यटककाे राेजाइ बन्दै आँधिमूल मन्दिर


तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ५ मा अवस्थित ‘आँधिमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले मन्दिर आसपासमा विकास निर्माणको कार्य थालेपछि यस क्षेत्र अहिले पर्यटन आकर्षणको केन्द्र बनेको हो । 

आँधिमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । आँधिमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधिमूल देविको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रही आएको छ । त्यसैले पनि मनोकांक्षा पुरा हुने अपेक्षा सहित मानिसहरु टाढाटाढाबाट आउने गरेको स्थानीयहरु बताउँछन् । 
 
आँधिमूल मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा घेराबार योजना अन्तर्गत १५ लाख रुपैंयाँ विनियोजन गरेको थियो । यस्तै तीन लाख रुपैंयाँको लागतमा ट्रष्ट निर्माण गरिएको छ । गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले मन्दिरसम्मको पहुँचलाई सहज बनाउन पृथ्वी राजमार्गको सत्रसयदेखि आँधिमूलसम्मको सडकलाई कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको जानकारी दिए । 

पृथ्वी राजमार्गको सत्रसयदेखि करीब एक घण्टा पैदलमार्ग हुँदै पुग्न सकिने उक्त ठाउँमा सवारी साधनमार्फत १५ मिनेटमा नै पुग्न सकिन्छ । विशेषगरी सार्वजनिक बिदाको दिन पर्यटकहरु घुम्न र वनभोजका लागि आउने गर्छन् । 

Logo