महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित

महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित


कोभिड–१९ महामारीकाबीच उत्साहवर्द्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् ।

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ । एकातर्फ प्रतिकूल परिस्थितिका बाबजुद पनि पर्वतारोहणका लागि बाक्लो सङ्ख्यामा विदेशीको आगमन अर्कोतफ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटन तथा साहकिय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ । विभागको पछिल्लो विवरणमा हालसम्म ४९ आरोही समूहका ४१९ आरोहीले आरोहण अनुमति लिएका छन् ।

यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म २६ आरोही समूहका २४४ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि छ । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ । 

महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव कुलबहादुर गुरुङले असहज परिस्थितिका बाबजुद पनि सगरमाथा सहितमा हिमाल आरोहणका लागि विदेशीको बाक्लो सङ्ख्यामा उपस्थितिले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए ।

उनले भने, ‘कोभिड महामारी सन्दर्भमा सगरमाथामा आरोही आएको सङ्ख्या हेर्दा अघिल्लो सामान्य अवस्थाकै हाराहारीमा हुनु तथा एनएमएले व्यवस्थापन गरिरहेको चुलि (पिक) आरोहणमा पनि तुलनात्मक रुपमा कम भए पनि यसले सकारात्मक सन्देश दिएको छ ।’ 

एनएमएको तथ्याङ्कअनुसार गत साउन १ देखि फागुन २९ गतेसम्म ६२ वटा पिक जारी भएकामा १६९ पुरुष र २३ महिला गरी १९२ ले पिक आरोहणको अनुमति पाएका छन् । अप्रिल महिनामा धेरै सङ्ख्यामा पिक बिक्री भएकाले यो सङ्ख्या बढ्ने जनाइएको छ ।

पिक पमिर्टबाट हालसम्म रु १६ लाख ८६ हजार रोयल्टी सङ्कलन भएको छ । यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् । 

कोभिड महामारी जोखिमकाबीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । 

बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । सेभेन समिट ट्रेकमार्फत हुन लागेको यो आरोहणमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकैबीच यसअघि ‘हाई प्रोफाइल’ व्यक्तिको नेपाल भ्रमण, प्रख्यात मुलुकबाट भइरहेको विशिष्ट आरोहणले पनि नेपालको पर्वतीय पर्यटनबारे सकारात्मक सन्देश प्रवाह भइरहेको बताए । ‘बहराईनका राजकुमार सहितको टोलीले सगरमाथा आरोहण तयारी गरिरहेको तथा यसअघि महामारीकैबीच कतारका राजकुमारको हिमाल आरोहणको धेरै महत्वको सन्देश छ । अर्थतन्त्रका अब्बल मुलुकका विशिष्ठ व्यक्तिको आरोहणले विश्वव्यापी रुपमा नेपालको सकारात्मक प्रवर्द्धन हुन्छ, यसबाट माउन्टेन टुरिज्म र साहसिक पर्यटन सुरक्षित रहेको सन्देश दिएको छ’, प्रवक्ता लामिछानेले भने ।

होटल एशोसिएशन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले वसन्त यामको आरोहणका लागि बाक्लो सङ्ख्यामा विदेशी आउनुले असहज परिस्थितिमा पनि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्व पर्यटन बजारमाझ पुर्याउन सहयोग पुगेको बताए ।
    
उनका अनुसार महारी कम भएका बेला खासगरी आन्तरिक पर्यटकले नेपालका होटलको बिजनेस केही हदसम्म सुधारोन्मुख भइरहेको सन्दर्भमा कोभिड महामारीको हालको अवस्थाले पुनः व्यवसायीलाई चिन्तित तुल्याएको छ । नेपालमा पछिल्ला महिनामा कोरोना सङ्क्रमण घरेर १०० भन्दा तल रहेकामा हालका दिनमा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ, अहिले दैनिक ३०० भन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् । 

कोरोना घटेको अवस्थामा नेपालका पर्यटकस्तरदेखि पाँचतारे होटलमा करीब १० प्रतिशत अकुपेन्सी रहेको हानका प्रथम उपाध्यक्ष शाहले बताए । यो सङ्ख्या नेपाली पर्यटक तथा भारतीय पर्यटकको मात्रै हो । कोभिडसम्बन्धी मापदण्ड खुकुलो बनाइ विदेशी पर्यटक आवागमन सहज तुल्याउने गरी व्यवस्था गरिए पनि पछिल्लो कोरोनाको लहरले पुनः पर्यटन व्यवसायीलाई झस्क्याएको छ ।

वसन्त यामको सगरमाथा आरोहणका लागि हालसम्म २६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । विभागको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी २६ आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा चार, नुप्से (७,८६४ मिटर) मा तीन र पुमरी (७,१६१ मिटर) मा एक आरोही समूह छन् । 

यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा चार समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ । सङ्खुवासभामा पर्ने मकालु हिमाल (८,८४६३ मिटर) आरोहणका लागि एक समूहले अनुमति लिएको छ ।

सगरमाथा आरोहणका लागि २६ समूहका २४४ आरोही छन् । ल्होत्स आरोहणका लागि ५५, अन्नपूर्णमा ४४, धौलागिरिमा ३०, नुप्सेमा २३, टुकुचेमा आठ, पुमरीमा पाँच र मनास्लुमा एक आरोही आरोहणका लागि गन्तव्यतर्फ लागेका छन् ।

पर्वतारोहणका लागि उपयुक्त मानिने यस वर्षको वसन्त याममा हिमाल आरोहणबापत पर्यटन विभागले हालसम्म ३३ करोड ९९ लाख ५० हजार ४९६ रोयल्टी सङ्कलन गरेको छ । हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । 

यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइँमा पर्छन् । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो । रासस

Logo