चिटिक्कको बन्यो जोगिटार हरितपार्क, नयाँ वर्षको अवसरमा औपचारिक उद्घाटन

चिटिक्कको बन्यो जोगिटार हरितपार्क, नयाँ वर्षको अवसरमा औपचारिक उद्घाटन


काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० जोगिटारमा निर्माण भएको जोगिटार हरितपार्कको औपचारिक उद्घाटन गरिएको छ। नयाँ वर्षको अवसर पारेर बागमती प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सो पार्कको औपचारिक उद्घाटन गरिएको हो।

गत वर्ष कोरोना प्रभावका कारण गरिएको लकडाउनकै समयमा जोगिटारका स्थानिय युवाहरुको सक्रियतामा यहाँ हरितपार्क निर्माणको सुरुवात गरिएको थियो। करिव ३ महिनामा निर्माण सम्पन्न भए पनि धेरै विषयहरु मिलाउनु परेका कारण औपचारिक उद्घाटन भने बुधबार नयाँ वर्षको अवसर पारेर गरिएको हो। 

यो पार्क अहिले मण्डनदेउपुर नगरपालिकाकै प्रमुख पर्यटकिय गन्तव्य बनेको वडा नं. १० का वडाध्यक्ष विष्णुमणी नेपालले जानकारी दिए । 

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, नेपाली कांग्रेसका काभ्रे जिल्ला उपसभापति अच्युतप्रसाद पौडेल, समाजसेवी कश्यपप्रसाद पौडेल, वरिष्ठ पत्रकार गोपाल तिवारी, कलाकारहरु मान सिंह खड्का, अमृता लामिछाने, हास्यकलाकार सुरेश थापा (दर्शने) र अनिता दङ्गाल (मनमाया) लगायतको उपस्थिती रहेको थियो।

१८ लाख २१ हजार लगानीमा निर्माण गरिएको हरितपार्कलाई नयाँ ढंगले सञ्चालनमा ल्याउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने सांसद लम्सालले बताए । नगरप्रमुख वाइवाले नगरपालिका जिल्लामै कान्छो भए पनि भौतिक निर्माणमा अघि बढेको बताएका थिए । नगरमा यस्ता कामहरुका लागि नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि जारी रहने वाइवाको भनाइ थियो ।

हरितपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष श्याम नेपालले सो पार्क १० रोपनी क्षेत्रफलमा फैलिएको जानकारी दिए । उनले नजिकै खेलमैदान निर्माणको काम पनि सुरु भएको बताए । कार्यक्रममा वडा नं १० का वडाध्यक्ष, विष्णुमणी नेपालले पार्क निर्माणमा सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। साथै वडालाई नमुना बनाउन आफ्नो पहल सधैं रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

पार्क निर्माणका लागि डिभिजन वन कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको थियो । यस्तै स्थानियवासीको जनश्रमदान पनि उल्लेख्य रहेको थियो । साथै नगरपालिका, वडा कार्यालय, स्याडेड नेपाल, एनआइसी एसिया बैंकले पनि सहयोग गरेका थिए । सो पार्क निर्माणमा देश विदेशमा रहेका व्यक्तित्वहरुले पनि सहयोग गरेका अध्यक्ष श्याम नेपालले जानकारी दिए। 

पार्कभित्र पिउने पानी, बालबालिकाहरुका लागि खेल्ने ठाँउ र भ्यू टावर पनि निर्माण गरिएको छ । यहाँबाट इन्द्रावती नदीको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ भने पारी पटि सिन्धुपाल्चोकका विभिन्न रमणिय ठाउँहरु पनि देख्न सकिनेछ।

तस्वीरहरु : विष्णुमणी नेपाल

Logo