न्यून दृष्टियुक्त केसीको सगरमाथा चढ्ने साहस, यस्तो छ तयारी

न्यून दृष्टियुक्त केसीको सगरमाथा चढ्ने साहस, यस्तो छ तयारी


सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन। सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला। निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच बागलुङका एक न्यून दृष्टियुक्त युवक अमिट केसीले पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गरेका छन्।

केसी सगरमाथा आरोहणको अहिले अन्तिम तयारीमा छन्। केसीको प्रयास सार्थक भए विश्वको दोस्रो र नेपालको पहिलो न्यून दृष्टियुक्त  सगरमाथा आरोहणको कीर्तिमानी रहनेछ। न्यून दृष्टियुक्त मानिस सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि केसीले केही वर्षअघि नै सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास गरिसकेका छन्। बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका केसी जन्मजात न्यून दृष्टियुक्त भएका नागरिक हुन्। उनको सगरमाथा चढ्ने योजना आठ वर्षदेखिको हो।

सन् २०१७ मा पहिलोपटक सगरमाथाको अन्तिम आधार शिविर आठ हजार मिटरमाथि पुगेर मौसम खराबीका कारण फर्कनुपरेको केसीले बताए। “सगरमाथाको कठिन यात्रा मैले बुझिसकेको छु, त्यतिबेला नै सफल भइसक्ने थिएँ, मौसमका कारण फर्किनुपर्यो, आर्थिकरूपमा समेत समस्या थियो”, केसीले भने, “त्यसलगत्तै सरकारले दृष्टिविहीनलाई सगरमाथा आरोहणका लागि प्रतिबन्ध गर्यो, दुई वर्ष सगरमाथा चढ्न पाउनुपर्छ भनेर सङ्घीय बेञ्चमा लडेर जितें, अब सगरमाथा चढ्ने अन्तिम तयारीमा छु।” केसीले एक हप्ताभित्रै केही आर्थिक सहयोग जुटाएर सगरमाथा आरोहणमा लाग्ने बताए। उनी अहिले काठमाडौँमा सगरमाथा चढ्ने अन्तिम तयारी र आर्थिक सहयोग जुटाउन सक्रिय छन्।  

“नेपालको पहिलो न्यून दृष्टियुक्त सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छु, आठ वर्ष अघिदेखिको योजना अब साकार हुनेमा आशावादी छु, केही आर्थिक सहयोगसमेत जुटिसकेको छ”, उनले भने, “यसपटक नेपालको झण्डा र नेपाल उद्योग वाणिज्य महासङ्घको झण्डा सगरमाथामा फहराउने गरी तयारी थालेको छु।”

यसरी आयो सगरमाथा चढ्ने योजना

रक क्लाइम्बिङमा रुचि रहेका अमिट केसी आठ वर्षअघि पोखरामा पुगेका बेला एक विदेशीसँगको भेटपछि न्यून दृष्टियुक्तसमेत सगरमाथा चढ्न सक्छन् भन्ने मनमा जागेकाले निरन्तर अभियान चलाउँदै आएको उनले बताए। विश्वको पहिलो न्यून दृष्टियुक्त अमेरिकाका एरिकले सन् २००१ मे २५ मा सगरमाथा चढेर विश्व कीर्तिमान राखिसकेका कारण आफू नेपालको पहिलो र विश्वको दोस्रो कीर्तिमान राख्ने प्रयासमा रहेको उनको भनाइ छ।

बागलुङ उद्योग वाणिज्य सङ्घको ५७ औँ वार्षिक साधारणसभाको निर्णय अनुसार नेपाल उद्योग वाणिज्य महासङ्घको झण्डा सगरमाथा पठाउने हस्तान्तरण गरिसकेको र केसीलाई सबै जिल्ला उद्योग वाणिज्य सङ्घलाई आर्थिक सहयोग गर्न आग्रह गरेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए।
 
यसरी जुट्दै छ आर्थिक सहयोग

सगरमाथा चढ्न साहस र आत्मविश्वासले मात्रै हुँदैन। खर्चसमेत आवश्यक हुन्छ। अहिले केसी काठमाडौँमा आर्थिक सङ्कलन अभियानमा लागिरहेको र अझै आर्थिक समस्या देखिएको उनले बताए। गण्डकी प्रदेश सरकार, गृहजिल्लाको नगरपालिकालगायतबाट केही सहयोग भए पनि अझै आर्थिक अभाव भइरहेको र सबैले सहयोग गरेमा आफूले नेपालको नयाँ कीर्तिमान कायम राख्न सक्ने विश्वास उनको छ। 

अहिलेसम्म केसीलाई गण्डकी प्रदेश सरकारले पाँच लाख, जैमिनी नगरपालिकाले साढे दुई लाख, सिटी एक्प्रेसले एक लाख, जिएमइले ५० हजार, एनआरएनएका उपाध्यक्ष कुल आचार्यले एक लाख, अष्ट्रेलियाबाट गोविन्द सापकोटाले ५० हजार रकम सहयोग गरिसकेको केसीले जानकारी दिए। केसीलाई सगरमाथा चढ्न तालिमपश्चात ५० लाख खर्च लाग्ने अनुमान छ। विश्व अमेरिकी दृष्टिविहीन नागरिक एरिक विश्वकै पहिलो सगरमाथा आरोही भएपछि केसीलाई सगरमाथा चढ्ने प्रेरणा मिलेको थियो । पैतीस वर्षीय केसीले नेपालको नयाँ कीर्तिमानी राख्न सबैले सहयोग गर्न आग्रह गरे। बागलुङकै सरकारी विद्यालयका शिक्षकसमेत रहेका केसी सगरमाथा आरोहण गर्ने अभियानकै कारण जागिरबाट निकालिएको बताए। 

“अमेरिकीहरू यहाँ आएर सगरमाथा चढेर गइसके, के म आफ्नै देशको सगरमाथा चढ्न सक्दिनँ ? यही प्रश्नबाट घेरिएर सगरमाथाको चुचुरो चुम्ने सपना देख्न थालें”, केसीले भने। उनले विसं २०७२ मा सोलुखुम्बुस्थित ६ हजार १८९ मिटरको ‘आइसल्याण्ड पिक’ र त्यही वर्ष ६ हजार ४७६ मिटरको ‘मेरा पिक’समेत चढिसकेका छन् । नेपाल क्लाइम्बिङ एशोसिएशनबाट सगरमाथा चढ्ने तालिम लिएका केसीले सन् २०१७ मा सगरमाथा चुमिसक्ने भए पनि प्राविधिक समस्याका कारण फर्किनुपरेको बताए। त्यसबेला सगरमाथा चुचुरामा पुग्ने सपना भने अधुरै भए पनि यसपटक भने पूरा हुनेमा पूर्ण विश्वस्त रहेको उनले बताए।रासस

Logo