विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा


वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर पुगेको छ। 

सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोही समूह आज मध्याह्न आधार शिविर पुगेको हो। 

सगरमाथाको चुचुरासम्म बाटो बनाएर फर्किएको आरोही समूहलाई आधार शिविरमा स्वागत गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्। उनका अनुसार अहिले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले अधिकांश आरोही आधार शिविरमाथितिर लागेका छन्।

आरोहणका लागि पहिलो लहरमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली छ। विशिष्ट विदेशी पाहुनाको यो आरोहणलाई निकै महत्वका साथ लिइएको छ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कूलबहादुर गुरुङले सगरमाथाको विशिष्ट पाहुनाबाट हुन लागेको आरोहणले विश्वभर सकारात्मक सन्देश प्रवाह गर्ने बताए।  

डोरी टाँग्ने समूहपछि पहिलो आरोहण बहराइनको टोलीले गर्न लागेको जनाइएको छ। बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आरोहणमा निस्किएको हो। आरोहणमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन्।रासस

Logo