सफा हिमाल अभियानअन्तर्गत मकालुबाट सात हजार किलो फोहोर संकलन

सफा हिमाल अभियानअन्तर्गत मकालुबाट सात हजार किलो फोहोर संकलन


सफा हिमाल अभियानअन्तर्गत सङ्खुवासभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ। 

नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ। मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागी नेपाली सेनाका सेनानी रुपकजंग थापाले जानकारी दिए। 

फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते  मकालु हिमालको आधार शिविर पुगेको उनले जानकारी दिए। टोलीले गत जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौँथो क्याम्प फोहोर संकलन गरेको थियो। यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरेको टोलीले जनाएको छ। 

सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गते सम्म फोहोर संकलन हुने टोलीले जनाएको छ। सङ्खुवासभाको मकालु गाउँपालिका २ मा पर्ने मकालु हिमालको उचाई आठ हजार चार सय ६२ मिटर हो। अभियान टोलीले मकालु हिमालको ७ हजार ४ सय मिटर उचाई सम्मको फोहोर संकलन गरेको जनाएको छ। 

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको सेनानी थापाले जानकारी दिए। टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए। 

फोहोर संकलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहोर बुझाएको छ भने अन्य नकुहिने फोहोर काठमाडौं लगिएको सेनानी थापाले बताए। सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। 

Logo