पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्डद्वारा विभिन्न देशका राजदूतसँग अन्तर्क्रिया

पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्डद्वारा विभिन्न देशका राजदूतसँग अन्तर्क्रिया


नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसँग छलफल गरेको छ। 

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी दिएका थिए। उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहेको जानकारी दिए। सिइओ डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समूहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउँदै बोर्डले दुतावासहरुसँग सहकार्य गरी पर्यटन प्रवर्द्धनका काम गर्ने बताए।

कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको बताए। खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उनीहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवर्द्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिए। यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकोले पर्यटक आगमनमा समस्या पर्ने गरेकोले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा.वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि सोही अनुरूप काम हुन नसकेको धारणा राखे । बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुद्धिष्ट जनसंख्या भएकोले केही प्रवर्द्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बंगलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल लैजान सकिने बताए। उनले लामो समयदेखि हुन नसकिरहेको उच्चस्तरिय भ्रमण गत वर्ष भएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आवश्यक रहेको बताए।  

यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राखे । उनले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएपनि विश्वमा अंग्रेजी नबुझ्नेको संख्या ठूलो रहेकोले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिए।

यस्तै भारत स्थित नेपाली दुतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवर्द्धननात्मक कार्यक्रम आवश्यक रहेको बताइन्। उनले भाषा, धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्त्वय भएकोले प्याकेजसहितको बजारीकरणलाई जोड दिनु पर्नेमा जोड दिइन् । श्रीलंका स्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलंकाको लागि प्रमुख आकर्षण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताइन्। उनले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक लैजान एअर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहको बताइन्। 

विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलवार भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भच्र्युअल अन्तर्क्रिया गरेको थियो। बोर्डले यस अघि कोभिड महामारीबिच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतहरुसँग पनि अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ। 

बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकिय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका मार्केटिङ म्यानेजर लक्ष्मण गौतमले जानकारी दिए।

Logo