पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशनबीच पर्यटन क्षेत्रको पुनःउत्थानका लागि सम्झौता

पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशनबीच पर्यटन क्षेत्रको पुनःउत्थानका लागि सम्झौता


नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान)बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौंता भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच  जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे। उनले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैँमा उदाहरणीय काम भएको बताए। उनले नेपाल एउटै भएकाले विदेशमा गएर प्रचारप्रसार गर्दा एकैप्रकारको प्रचार गर्न अनुरोध गरे। अध्यक्ष रेग्मीले यसका लागि विस्तृत छलफल गरेर अघि बढ्नु पर्ने बताए।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगतरुपमा काम गरिरहेको बताए। उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए। पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताए।

अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवर्द्धनको कामलाई अघि बढाउने बताए। टानले के गर्यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए।

Logo