आज ४२औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाइँदै

आज ४२औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाइँदै


आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइँदैछ। कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरि भौतिकरूपमा दिवस मनाउन लागिएको छ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरि दिवस मनाउन लागेका हुन्।

दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।  ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख्याका उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए। उनका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ।

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’ मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताए। ‘सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। गत वर्ष भर्चुअलरूपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्या माझ दिवस मनाइएको थियो।

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरूपमै कार्यक्रम गर्न लागिएको हो। दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रक्तादान कार्यक्रम गर्दैछ। नक्सालस्थित संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तादान गरिनेछ।
  
नेपाल पर्वतारोहण सङ्घले पनि दिवसको अवसर पारेर सोमबार नागपोखरीस्थित आफ्नो नवनिर्मित भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घको भवन उद्घाटन गर्नुहुने संस्थाले जनाएको छ।

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ। पर्यटन क्षेत्रका अगुवा सङ्गठनले सरकारी निर्णयको स्वागत गर्दै सबै सेवा पुनः सञ्चालन गर्ने जनाएका छन्। सीमा नाका खोल्ने र क्वारेन्टिनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ। यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ।

कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन्। पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए।

विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति निकालेर विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल व्यवसायी उत्साहित भएको जनाएको छ। सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरिएको छ। यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको व्यवसायीले महसुस गरेका छन्।

Skip This
Logo