विशिष्ट पाहुनाको आगमनसँगै पोखरेलीहरुमा पर्यटन चलायमान हुने आशा

विशिष्ट पाहुनाको आगमनसँगै पोखरेलीहरुमा पर्यटन चलायमान हुने आशा


पोखराको पर्यटनलाई चलायमान बनाउन पर्यटन क्षेत्र सम्बद्ध सङ्घसंस्थाले अग्रसरता देखाएका छन् । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स (नाट्टा) गण्डकीको टोली भदौ १६ गते आन्तरिक पर्यटन पुनरुत्थान गर्ने उद्देश्यले प्रदेश २ को भ्रमणमा पुग्यो। पोखरा र सिमरालाई हवाई उडानबाट जोडेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा भ्रमण लक्षित थियो। 

सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई गण्डकी प्रदेश सरकारका तर्फबाट पोखरा घुम्ने निम्ता दिइएको नाट्टा गण्डकीका महासचिव कमला गिरीले जानकारी दिइन्। 

गिरीका अनुसार निमन्त्रणलाई स्वीकार गर्दै मुख्यमन्त्री राउतसहितको एक टोलीले दुई रात तीन दिनको बसाइमा पोखराका विभिन्न पर्यटकीय गन्तव्य भ्रमणसमेत गरी अन्तरप्रदेश पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि धार्मिक, औद्योगिक, थप हवाई सेवा लगायतका विषयमा सम्झौतासमेत भयो ।  

यसलगत्तै विश्व पर्यटन दिवसका दिन, २७ सेप्टेम्बरको पूर्वसन्ध्यामा पनि पोखराको लेकसाइडमा बेग्लै चहलपहल थियो। विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणमा नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञहरूको पोखरा आगमनले पोखराको लेकसाइडमा चहलपहल बढाएको थियो भने व्यवसायीमा केही आशा पलाएको थियो। 

विशिष्ट पाहुनालाई पोखरा विमानस्थलमा भव्य स्वागतसँगै त्यही साँझ गण्डकी प्रदेश सरकारद्वारा आयोजित रात्रिभोजमा सरिक गराइएको थियो। पोखराको पर्यटनलाई विश्वमा चिनाउने र पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने कार्यक्रमको उद्देश्य थियो। 

विशिष्ट पाहुनालाइ सेप्टेम्बर २७ का दिन टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा एसियाकै नमूना भनेर दाबी गरिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको नौडाँडाबाट देउरालीसम्मको तीन किलोमिटर अपाङ्गमैत्री मार्ग हुँदै कास्कीकोटको ऐतिहासिक कुलमण्डल शाहको दरबारसम्मको हाइकिङ गराइएको थियो। तिनलाई पञ्चेबाजासहित स्थानीयवासीले फूलमालासहित भव्य स्वागत गरेका थिए। 

पोखराबाट बिहान छर्लङ्ग खुलेको हिमशृङ्खलाको मनमोहक दृश्यसँगै कास्कीकोट पुग्दा बिस्तारै विभिन्न आकृतिमा कुहिरोले छोप्दै देखिँदै गरेका हिमालहरुको  प्राकृतिक सुन्दरता अवर्णित थियो। विशिष्ट पाहुनाहरु उक्त दृश्य घरी आँखामा त घरी मोबाइल र क्यामेरामा कैद गरिरहेका देखिन्थे। 

हाइकिङमा सहभागी नेपालस्थित युनेस्कोका प्रतिनिधि माइकल क्रोफ्ट  कुहिराले छोप्दै गरेको हिमशृखङ्लाका दृश्य कैद गर्न व्यस्त थिए। पोखरा पहिलोपल्ट आएको अनुभव सुनाउँदै यात्रा निकै रोमाञ्चक भएको सुनाए । 

नेपालका लागि फिनल्यान्डका राजदूत पर्टी एन्टीनेनले बिहान उठ्दा बित्तिकै माछापुच्छ्रेको हिमशृखङ्लाले आफूलाई निकै लोभ्याएको अनुभव बाँडे। तीन वर्षअघि सेप्टेम्बरमा पोखरा आउँदा खुलेको हिमालको दृश्यावलोकनसँगै लेकसाइडका बारहरु गएको रमाइलो पल पनि उनले स्मरण गरे। 

(सार्क) का महासचिव इसाला रुवान विराकुनले आफ्नो देशका श्रीलङ्काका कूटनैतिक नियोगका पदाधिकारीसहितको यो भ्रमण निकै फलदायी रहेको बताए। 

श्रीलङ्का र नेपालका धेरै सांस्कृतिक एवम् धार्मिक कुरा मिल्ने बताउँदै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकलाई जोडेर पर्यटन विकास गर्न सकिने उनको धारणा छ । विराकुनले यही अक्टुबरबाट प्रत्येक मङ्गलबार र शनिबार काठमाडाैं– कोलम्बो उडान हुन लागेको जानकारी दिँदै अब दुई देशबीच पर्यटन प्रवद्र्धनका सहयोग हुने विश्वाससमेत व्यक्त गरे । 

संयुक्त राष्ट्रसङ्घका लागि नेपलास्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तीले माछापुच्छ्रे लगायतको हिमशृङ्खलालाई पृष्ठभूमिमा पारेर एउटा टिकटक भिडियो नै पोष्ट गरे । साथै नेपाल बुझ्न र जान्न सम्पूर्णलाई एक पटक पोखरा आउन आग्रह गरे । नेपाल र विशेषगरी पोखरामा पर्यटनको अथाह सम्भावना भएको कुरा भिडियोमा समेटिएको छ।    

पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले राजदूत र कूटनीतिक नियोगका पदाधिकारीसहितको पोखरा भ्रमणले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल हुने विश्वास व्यक्त गरे।

विदेशी कूटनीतिज्ञहरुले पोखरा भ्रमणका अनुभव सामाजिक सञ्जालमा शेयर गरेका भिडियोले पनि पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने भण्डारीको विश्वास छ। 

११ देशका राजदूत, चार सचिवालय, युएनडिपी र आइओएमका आवासीय प्रतिनिधि कूटनीतिज्ञ, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा बेलायतका लागि नेपालका पूर्वराजदूत डा दुर्गाबहादुर सुवेदीलगायत दुई दर्जनभन्दा बढी विशिष्ट व्यक्तिले पोखरा भ्रमण गरेका थिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले विश्व पर्यटन दिवसका विशिष्ट पाहुनाको भ्रमणले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश जाने बताए।

सरकारले कर्मचारीका लागि  ल्याएको  ‘पेड होलिडे’  कार्यक्रमअन्तर्गत शनिबार र आइतबार बिदा दिन सके तत्कालका लागि आन्तरिक पर्यटनबाट पनि सुस्ताएको पर्यटनले गति लिन सक्ने उनको विश्वास छ। 

विश्व पर्यटन दिवसका दिन रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले  पनि ‘पोखरा खुला छ’ भन्ने सन्देशसहित एकदिने मिनी महोत्सव आयोजना गरेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए।

बराल भन्छन्, “गत वर्ष पनि निषेधाज्ञा खुकुलो भएसँगै हामीले पोखराको पर्यटन चलायमानका लागि मिनी सडक महोत्सव गरेर पोखरा खुला छ भन्ने सन्देश दिएका थियौँ, त्यतिबेला आन्तरिक पर्यटकको पोखरा आगमन निक्कै राम्रो देखिएको थियो ।” 

पर्यटन दिवसलाई लक्षित गरेर पोखरा आएका विशिष्ट पाहुनाहरु पनि सडक महोत्सवमा सहभागी भएकाले सकारात्मक सन्देश गएको बरालले बताए । 

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटाका अनुसार पोखरामा जमिनबाहेक पर्यटनमा रु एक खर्ब ९२ अर्बको लगानी रहेको छ । पर्यटन क्षेत्रमा ७५ हजारले रोजगार पाएका छन्। कोभिडका कारण दैनिक १३ करोड ३६ लाख घाटा यस क्षेत्रले व्यहोरिरहेको छ। 

विगतको तथ्याङ्कअनुसार नेपाल आउने पर्यटकको औसत बसाइ ११ दिन रहेको छ भने पर्यटकको पोखरा बसाइ दुईदेखि तीन दिनसम्मको हुने गरेको देखिएको छ। रासस

Logo