सररर हेलिकप्टर चढेर गोसाईंकुण्ड पुग्दा (भिडियाे)

सररर हेलिकप्टर चढेर गोसाईंकुण्ड पुग्दा (भिडियाे)


काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानव शास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । हुन त धेरैजसो यात्रीहरू त्रिशूलीबाट जान्छन् तर सुन्दरीजलको बाटो छोटो मानिन्छ। पैदल यात्राबाट गोसाईंकुण्ड जानेहरूको पहिलो बास चिसापानीमा हुन्छ ।

दोस्रो दिनको यात्रा लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि साँझ थारे पाटी पुगेर हुन्छ ।

यसरी नै ठाउँ ठाउँमा बास बस्दै पाँचौँ दिनमा पुगिन्छ, गोसाईंकुण्ड क्षेत्रको पहिलो कुण्ड,सूर्य कुण्ड । यहाँबाट केही तल झरेपछि बल्ल पुगिन्छ गोसाइँकुण्ड । 

यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाईंकुण्ड त्रिशूली नदीको उद्गम हो। विषले निस्लोट भएका शिवले जमीनमा गाडेको त्रिशूलबाट तीन वटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ। गोसाइँकुण्डमा सबैभन्दा ठुलो मेला जनै पूर्णिमामा लाग्ने गर्दछ। यहाँ धार्मिक पर्याटकहरु पनि आउने गर्दछन् ।

तर यति बेला भने गोसाईंकुण्ड पुग्न ५ दिनको एकोहोरो पैदल यात्रा गर्नु पर्दैन । विभिन्न कम्पनीहरूले सञ्चालनमा ल्याएको हेलिकप्टरको सुविधाले काठमाडौँबाट गोराइकुण्डको भ्रमण गरेर दुई घण्टामा पुन काठमाडौं नै आइपुग्न सकिन्छ । त्यसका लागि कम्पनी अनुसार प्रतिव्यक्ति १८ देखी २२ हजार रुपैयाँ सम्मको प्याकेज सञ्चालनमा रहेका छन् ।

 

Logo