गोरखा भूकम्पपछि पर्यटकले धेरै रुचाएकाे नयाँ गन्तव्य ‘लाप्राक’

गोरखा भूकम्पपछि पर्यटकले धेरै रुचाएकाे नयाँ गन्तव्य ‘लाप्राक’


१२ वैशाख २०७२ काे भूकम्पपछि चर्चामा आएको उत्तरी गोरखाको लाप्राक गाउँले पर्यटन व्यवसायमा फड्को मार्न थालेको छ। भूकम्पपछि एकीकृत नमूना बस्ती बनेसँगै धार्चे गाउँपालिका वडा नम्वर ४ गुप्सीपाखाकाे हाेमस्टे अहिले पर्यटकहरूको राेजाइमा पर्न थालेकाे हाे।

काेराेना संक्रमण दरमा कमी आएसँगै यहाँकाे पर्यटन व्यवसायले गति लिन थालेकाे छ। 

'कोरोनाका कारण लामो समयसम्म थलिएको पर्यटन व्यवसाय अहिले सामान्य अवस्थामा पुग्न थालेकाे छ,’ वडाध्यक्ष राज गुरूङले भने, ‘यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयबासीलाई रोजगारी सिर्जना गर्दै पर्यटनमार्फत ग्रामीण क्षेत्रको आर्थिक विकास गर्ने उद्देश्यले होमस्टे संचालनमा ल्याएका हौँ।’ भूकम्पपछि सरकारले लाप्राकको पुरानो गाउँलाई अति जोखिम क्षेत्र धोषणा गर्याे। पुरानो गाउँभन्दा करिब दुई किलोमिटर माथि रहेको गुप्सीपाखामा एनआरएनएले पाँच सय ७३ घर बनाइ दिएका थिए।  

करिब २८ सय सय मिटर उचाइमा बुद्ध, गणेश र मनास्लु हिमालको काखमा रहेको लाप्राक गाउँमा गुरुङ र दलित समुदायको बाहुल्यता छ। २०७२ सालको भूकम्प अघिसम्म टाढैबाट झट्ट हेर्दा प्राकृतिक सौन्दर्यको बीचमा ढुंगाकाे छानो, ढुंगाकै गारो लगाएका एकनासे करिब ६ सय घरधुरी  एकै ठाउँ देखिन्थे। विशेषतः यहाँ गुरुङ समुदायको मौलिक कला संस्कृति हेर्न अधिकांश समय पर्यटकको आउजाउ बाक्लै हुन्थ्यो। पर्यटकीय गन्तव्यको रूपमा चिनिने यो गाउँको कलात्मक संस्कृति देखेर जो कोहीको मन लोभिन्थ्यो। तर, भूकम्पपछि यस गाउँको पहिचान फेरिएको छ। 

अहिले लाप्राकमा अधिकांश मानिस विशेषत: नमुना बस्ती अवलोकनका लागि आउने गरेको वडाध्यक्ष बताउँछन्। ‘भुकम्पले पुरानो पहिचान गुम्यो, नयाँ पहिचान बनाइदियो। नयाँ पहिचान मतलव नमूना बस्तीमा आन्तरिक तथा वाह्य पर्यटक बढाउन होमस्टे संचालनमा ल्याउनुका साथै यसको प्रचारप्रसार गर्ने र विगतका इतिहास, संस्कृतिलाई बचाउने गरी लागि परेका छौँ,’ वडाध्यक्ष गुरुङ सुनाउँछन्। 

अहिले स्थानीय दलवीर गुरुङ, सुनमाया गुरुङ, कोपिला गुरुङ, माया गुरुङ र हिममाया गुरुङले सामुदायिक होमस्टे संचालन ल्याएका छन्।  दलवीर भन्छन्, ‘पाँच घरमा होमस्टे सन्चालनमा ल्याएका छौँ। अहिले हामीले एक रातमा ४० जना पाहुनालाई राख्न सक्छौँ।’ 

होमस्टेमा गाउँमै उत्पादन गरिएको फापरको रोटी, आलुबाट बन्ने विभिन्न परिकार, स्थानीय स्तरमा उत्पादन हुने च्याउ, कोदो, मकै, सिस्नु, सागसब्जी, लोकल कुखराको मासु र विभिन्न खानाका परिकार उपलब्ध हुन्छ। 

कसरी पुग्ने लाप्राक ?
गोरखा बजारबाट बाह्रकिलो, छेवेटार, बालुवा, बारपाक हुँदै ६० किलोमिटर यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ। हाल लाप्राकसम्म जाने  सडक कच्ची छ। गाउँपालिकाले सडक स्तरउन्नतीको लागि काम गरिरहेको छ। ‘लाप्राकसम्म आउने सडक ग्रावेल गर्न पहल भइरहेको छ। त्यसपछि नमूना बस्तीका दुई सय घरमा होमस्टे संचालन गर्ने हाम्रो तयारी छ,’ वडाध्यक्ष भन्छन्।न्युज कारखाना

Logo