पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाउने योजना छ : जीवनराम श्रेष्ठ

पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाउने योजना छ : जीवनराम श्रेष्ठ


संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताए ।  

बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताए । 

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनरुत्थानको लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताए । 

उनले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रर्यटन प्रवर्द्धन हुने दाबी गरे । मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको बताए । 

पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर प्रर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालय गम्भीर रहेको पनि बताए । 

उनले कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पुर्‍याएको बताए । मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रुपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताए ।  

 
 

Logo