सीके राउतकाे टिप्पणी- बैशाखमा मतपेटिका लुटेको सरकारले जेठमा बजेटमा लुट्यो

सीके राउतकाे टिप्पणी- बैशाखमा मतपेटिका लुटेको सरकारले जेठमा बजेटमा लुट्यो


जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके राउतले बजेटलाई जोडेर संसदीय उपनिर्वाचनमा भएको परिणामको तितो पोखेका छन् । 

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद राउतले यो देशमा बजेट लुट्नेहरुले गत बैशाखमा बारामा भएको उपनिर्वाचनमा बुथ लुटेको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले जहाँ भएपनि लुट्ने क्रम जारी राखेको छ, गत बैशाखमा  बारामा मतपेटिका लुटे, अहिले जेठमा आएर बजेट लुटे, बजेट बनाइएको होइन, बजेटमा लुटतन्त्र मच्चाइएको छ ।’ 

गत बैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी हुँदा राउतको जनमत पार्टीका उम्मेद्वार शिवचन्द्रप्रसाद कुशवाह पराजित भएका थिए । उनकाे भनाई यसतर्फ इंगित थियाे । 

त्यस्तै, सांसद राउतले बजेटले अहिले देश छोडेर पलायन भइरहेका युवालाई समेट्ने कुनै कार्यक्रम नसमेटेको बताए । ‘युवाहरू दिनानुदिन विदेश गइरहेका छन् । युवालाई स्वदेशमा रोक्ने कार्यक्रम आउला, सरकारले योजनाहरू बनाउला भन्ने सोचिरहेको थिएँ, तर त्यस्तो त केही पनि भएको छैन । नयाँ उद्योग खोल्ने योजना छैन, पुरानो उद्योगमा नयाँ रोजगारीको सम्भावना छैन,’ उनले भने । मधेश प्रदेशलाई राजस्वभन्दा पनि कम बजेट दिइएको उनकाे आराेप छ ।

Logo