काँग्रेसका दिवंगत यी ७ नेता, जसको अभाव पार्टीमा सधैं रहनेछ (भिडियोसहित)

काँग्रेसका दिवंगत यी ७ नेता, जसको अभाव पार्टीमा सधैं रहनेछ (भिडियोसहित)


काठमाडौं ।

हरेक राजनीतिक पार्टीका आ–आफ्नै इतिहास छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने पुरानो पार्टी नेपाली काँग्रेसको योगदान अतुलनीय छ । नेपालमा भएका हरेक राजनैतिक क्रान्तीको नेतृत्व गर्ने पार्टीका रुपमा नेपाली काँग्रेस परिचित छ । अर्को यथार्थ, प्रजातान्त्रिक पद्धति अनुसार सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली काँग्रेस नै हो ।

सत्तामा रहँदा काँग्रेसले के गर्न सक्यो वा सकेन त्यसको अलग मुल्याकंन हुन सक्छ तर जनभावना अनुरुप आन्दोलनको आँधिवेहरी सृजना गर्न काँग्रेस सधैं सक्षम रह्यो । आजका दिनसम्म आइपुग्दा काँग्रेसमा धेरैले नेतृत्वदायी भुमिकामा काम पनि गरे । के ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त ? अनि आजको काँग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त ? आज हामी काँग्रेसका ती दिवंगत नेतृत्वहरुलाई सम्झँदै छौं । जसको काँग्रेसमा अझै अभाव छ । र रहन्छ सधैं सधैं । को को हुन् त ती नेतृत्वहरु ?

गणेशमान सिंह, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला, सुशील कोइराला , शैलजा आचार्य, मंगलादेवी सिंह । यी दिवंगत काँग्रेस नेताहरुका बारेमा तयार पारिएको विशेष रिपोर्ट हेरौं यो भिडियोमा :

१. गणेशमान सिंह

गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणाशासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए । भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रबास जानु अघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो ।

२. बीपी कोइराला

बीपी कोइरालाको जन्म विसं १९७१ भदौ २४ मा भएको थियो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् उनी । नेपाली राजनीतिज्ञ तथा साहित्यकार पनि थिए उनी । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरे । विसं २०१५ मा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका उनले नेपालमा प्रजातन्त्र स्थापाना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए ।

३. कृष्णप्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराई नेपालका २९ औं प्रधानमन्त्री हुन् । उनको जन्म जन्म विसं.१९८१ पौष ०८ गते भएको थियो । कृष्णप्रसाद भट्टराईको राजनीतिक नाम किशुनजी हो । नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका पहिलो प्रधानमन्त्री थिए, उनी । भट्टराई वि.सं. २००३ सालमा नेपाली काँग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न थिए । यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर तथा उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई वि.सं.२०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए ।

४. गिरिजाप्रसाद कोइराला

गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते भएको थियो । उनी नेपाली कांग्रेसका ५ औं सभापति थिए । बि.सं. २०४८ जेठ १२ देखि २०५१ मंसिर १४, २०५५ वैशाख २ देखि २०५६ जेठ १७ सम्म, २०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि कोइराला चार पटक प्रधानमन्त्री भएका थिए । उनी नेपाली काँग्रेसका सभापति र सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए । उनले ६० वर्षभन्दा धेरै समय राजनीतिमा बिताए । उनले आफ्नो राजनीतिक जीवनको सुरूवात आफ्नो गृहनगर विराटनगरको जुटमिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए ।

५. सुशील कोइराला

सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति थिए । कोइराला नेपालको व्यवस्थापिका संसदबाट वि.सं. २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए । कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो । सुशीलको जन्म सन् १९३९ मा भएको थियो । उनका ६ भाइ र एक बहिनी थिए । वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो ।

६. शैलजा आचार्य

निडर नेतृ शैलजा आचार्य वि.सं. १९९८ वैशाख २० गते मोरङको विराटनगरमा जन्मिएकी थिइन् । माता इन्दिरा र पिता पिनायकीप्रसाद उपाध्यायको पहिलो सन्तानका रूपमा जन्मेकी आचार्यको सिंगो जीवन राजनीतिक सेरोफेरोमै बित्यो । संघर्षपूर्ण जीवनगाथा बोकेकी नेत्री आचार्यले पद्मकन्या कलेजबाट बिए तथा बनारस हिन्दू विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी थिइन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यदेखि उपसभापतिसमेत बनेकी नेत्री आचार्य मुलुकको पहिलो महिला उपप्रधानमन्त्रीसमेत बनेकी थिइन् ।

७. मंगलादेवी सिंह

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म विसं. १९८१ मा काठमाडौंको न्हैकन्तलामा भएको हो । वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भयो । वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानियाँ राणाशासन विरोधी आन्दोलनमा सक्रिय भइन् । २००४ सालमा उनी काठमाडौं म्हैपीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहिन् । विसं २००५ सालमा पद्मशमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुगेकी थिइन् । सिंहले २००७ सालको क्रान्तिमा पनि ठूलो भूमिका निर्वाह गरिन् । श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहिन् ।

Logo