विश्व बैंकको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सिमित रहने

विश्व बैंकको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सिमित रहने


काठमाडौं ।

नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०७७/७८ मा ०.६ प्रतिशतमा सिमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार ग्लोबल इकोनोमिक प्रस्पेक्ट रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र सुस्त भएको बेलामा विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर कम हुने प्रक्षेपण गरेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । तर कोरोना महामारीको जोखिम कायमै रहेकाले चालू आर्थिक वर्षमा अर्थतन्त्र माथि उठ्न नसक्ने आँकलन गरिंदै आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको आर्थिक स्थिति सकारात्मक रहेको जनाएको छ ।

विश्व बैंकका अनुसार नेपालले आगामी आर्थिक वर्ष २०७८/७९ (२०२१/२०२२) मा २.५ प्रतिशत आर्थिकवृद्धि गर्ने सम्भावना रहेको देखाएको छ । बैंकले अघिल्लो आव २०७६/७७ मा ०.२ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने अनुमान गरेको छ ।

यस्तै विश्व बैंकले चालू आर्थिक वर्षमा भारत र भुटानको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार चालू आवमा भारतले ९.६ प्रतिशत र भुटानले ०.७ प्रतिशत आर्थिक वृद्धिदर हुने बताएको छ । बंगलादेशले १.६ प्रतिशत र पाकिस्तानले ०.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।

 

Logo