ठमेलका व्यवसायी विस्थापित हुने अवस्थामा (भिडियोसहित)

ठमेलका व्यवसायी विस्थापित हुने अवस्थामा (भिडियोसहित)


काठमाडौं ।

कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।

पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्णरुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ । जसका कारण घरभाडा तिर्न समेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले गत चैत यता व्यवसाय पूर्ण रुपमा बन्द भएपछि अहिले व्यवसायीहरुलाई घरभाडा तिर्न गाह्रो भएको बताए । अन्य क्षेत्रमा भन्दा ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको बताए ।

उनले ठमेल पर्यटन विकास परिषद्को पहलमा केही घरबेटीले घरभाडा छुट दिए पनि लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा समस्या आएको बताए । ठमेल भित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशत सम्म घरभाडा छुट दिए पनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिदा त्यस्ता व्यवसायीहरु विस्थापित भइसकेको बताए । उपत्यकामा फेरि निषेधाज्ञा जारी भएपछि भने अभैm लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छुट पाएका व्यवसायीहरु पनि भाडा तिर्न नसकेर विस्थापित हुनु पर्ने अवस्थामा पुगेको शर्माले बताए ।


काठमाडौंमा अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ । त्यसैले पनि ठमेल क्षेत्र पूर्णरुपमा पर्यटकमा निर्भर रहेको क्षेत्र हो । अहिले अन्तर्राष्ट्रिय उठान बन्द भएका कारण पर्यटकहरु आउने अवस्था पनि छैन । पर्यटक नआउँदा सम्म ठमेलको व्यापार शुन्य नै हुन्छ । नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन् ।

त्यसैले ठमेलको व्यापार पूर्णरुपमा पर्यटनमा आधारित छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले लगानी पनि बढाएका थिए । उपाध्यक्ष शर्माले घरजग्गा विक्री गरेर अथवा बैंक ऋण गरेर लगानी गरेका व्यवसायीहरु यतिवेला सबैभन्दा बढी समस्यामा रहेको बताए । सरकारले पर्यटन व्यवसायीहरुलाई पुनर्कर्जा उपलब्ध गराउने भने पनि त्यसको कार्यान्वयन छिट्टै नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगिसकेको बताए । त्यस्तै अझै एक वर्ष यस्तै अवस्था रहे बैंकबाट ऋण लिएर व्यापार गरेका व्यवसायीहरुलाई बैंक ऋण तिर्न सक्ने क्षमता पनि नरहने उनले बताए । यस्तो समस्या आउन नदिन सरकारले बेलैमा व्यवसायीलाई सहज वातावरण निर्माण गरिदिनु पर्ने पनि उनले बताए ।

ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजार भन्दा बढी व्यवसायीहरु रहेका छन् । व्यवसायीहरुले भाडाबापत मासिक ३० करोड रुपैयाँ भन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को तथ्याङ्कले देखाउँछ । ठमेलमा खास गरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकला, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसायहरु रहेका छन् ।

 

Logo