दाङमा जडीबुटी निकासी घट्यो

दाङमा जडीबुटी निकासी घट्यो


दाङमा यो वर्ष जडीबुटी निकासा घटेको छ। यो वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार ५३० किलो निकासा भएको छ।

यसपछि टिमुर ५३ हजार ५८६ किलो निकासा भएको छ। काउलो २१ हजार ८७५ किलो, रिठा १४ हजार २०० किलो, मालागेडी १३ हजार ५०० किलो निकासा भएको छ।

तेजपात पाँच हजार ५०० किलो, दालचिनी सात हजार १४५ किलो, मालागेडी पाँच हजार किलो निकास भएको छ। जसमा निजी वनबाट एक लाख ९४ हजार ३३६ किलो र राष्ट्रिय वनबाट २९ हजार ७०० किलो गरी दुई लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ।

दाङबाट बितेको एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासा भएको थियो। डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८र०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो।

वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी सङ्कलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी सङ्कलनको राजस्व पूर्णरूपमा छुट गरिएको छ।

निजी वन क्षेत्रबाट उत्पादित जडीबुटी प्रवर्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताए। यसैगरी, राष्ट्रिय वन क्षेत्रबाट सबैभन्दा बढी दारुहल्दी सात हजार ७०० किलो निकास भएको छ। तेजपात पाँच हजार किलो, टिमुर चार हजार ५०० किलो निकासा हुँदा कालीकाठ चार हजार किलो निकासा भएको छ।

रिठा तीन हजार किलो, दालचिनी तीन हजार किलो, मालागेडी तीन हजार किलो निकासा हुँदा दुई लाख ३३ हजार ५०० राजस्व सङ्कलन भएको उनले ब ताएराष्ट्रिय वनबाट विभिन्न १५ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएकोमा निजी वन क्षेत्रबाट १३ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएको थियो।

पछिल्ला केही वर्षयता जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको बेला यो वर्ष निकासा अपेक्षित रूपमा हुन सकेको छैन।जडीबुटी खेतीको प्रवर्द्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने गत वर्षदेखि जडीबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ।

टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडा र बंगलाचुली गाउँ पालिकालाई गत वर्ष पकेट क्षेत्र समेत घोषणा गरेको छ।

पकेट क्षेत्रमा टिमुरसँगै माला गेडी र दालचिनीका एक लाख ८४ हजार बिरुवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ। जसमा करिब एक लाख बढी बिरुवा टिमुरका मात्रै रहेका छन्।

वनमा जडीबुटी खेती गरेर उपभोक्तालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले वन कार्यालयले जडीबुटी खेतीमा किसानलाई निःशुल्क बिरुवा वितरणदेखि बिरुवा संरक्षण गर्नेलाई प्रतिबिरुवा रु २० दिने गरेको छ।

जसले गर्दा जिल्लामा जडीबुटी खेती गर्ने किसान बढेको डिभिजन वनको दाबी छ। जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ।

Logo