कुन दलबाट कसले दिए बागी उम्मेद्वारी ?

कुन दलबाट कसले दिए बागी उम्मेद्वारी ?


हरेक निर्वाचनमा असन्तुष्ट मतदाता वा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेदवारले मतपरिणाम नै प्रभावित बनाउने गरेका छन् । बागी उम्मेदवारकै कारण जित्ने सम्भावना बोकेका नेताहरु समेत पराजित भएका उदाहरण छन् । मंसिर चार गते हुने निर्वाचनमा पनि यही परिदृश्य नदोहोरिएला भन्न सकिन्न । गठबन्धन र चुनावी तालमेलका कारण एकल सिफारिसमा परेका नेताहरुले समेत टिकट नपाउँदा कांग्रेस र एमालेबाट बढी बागी उम्मेदवारी परेको छ । 
 
कांग्रेसमा क–कसले दिए बागी उम्मेद्वारी ?
कांग्रेसमा सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ १ मा दुई जनाले बागी उम्मेद्वारी दिएका छन् । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालको निर्वाचनमा जोशीको उम्मेदवारी खारेज भए पनि उनकै सक्रियतामा पौडेल पराजित भएका थिए । तनहुँ १ मा विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव बास्तोलाले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका छन् । 
कांग्रेसका निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएपछि सिंह बागी उम्मेदवार बनेका छन् । 

प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ (ख) मा कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ । कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले कांग्रेसका आधिकारिक उम्मेदवार देउवाविरुद्ध उम्मेद्वारी दिएका हुन् ।

धादिङ–२ मा केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन् । पार्टीले रामनाथ अधिकारीलाई टिकट दिएपछि धमलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै कांग्रेस नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी छिन् ।

कैलाली–५ मा डिल्लीराज पन्तलाई गठबन्धनबाट उम्मेदवार बनाइएको छ । कांग्रेस नेता पुष्करनाथ ओझाले त्यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतविरुद्ध कांग्रेसका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले उम्मेद्वारी दिएका छन् ।

कांग्रेस नेता हरिमोहन भण्डारीले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । टिकट वितरणको विषयमा असन्तुष्ट भण्डारीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

एमालेबाट क–कसले दिए बागी उम्मेद्वारी ?
एमालेमा टिकट नपाएपछि प्रभावशाली नेताले नै विद्रोह गरेका छन् । एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माविरुद्ध रुपन्देही १ मा बागी उम्मेदवारी दर्ता गराएका छन् । यद्यपि भुसालले पार्टी परित्यागको घोषणा गरेका थिए । नेकपा एमालेबाट टिकट नपाएपछि रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिए । एमालेले काठमाडौँ– ७ मा श्याम घिमिरेलाई टिकट दिएको छ । स्याङ्जा–२ मा एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दर्ता गराए । एमाले–जसपा गठबन्धनका उम्मेदवार प्रमोद साहविरुद्ध सर्लाहीमा एमालेका मानबहादुर खड्काले बागी उम्मेद्वारी दर्ता गराए । स्थायी कमिटी सदस्य प्रमु साहले पार्टी मै नरहेको घोषणा गर्दै पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिए । दैलेख–१ मा प्रतिनिधिसभाको लागि एमालेका गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 
यस्तै, एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिइन् । एमालेले दाङ–१ मा शान्ता चौधरीलाई टिकट दिएपछि उनले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । 
एमाले धादिङका पूर्व अध्यक्ष तथा पुराना कम्प्युनिष्ट नेता नेत्रराज पौडेलले धादिङ १ (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले युवा नेता रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 
रुपन्देही ५ मा पनि एमालेमा दुई जनाको उम्मेदवारी परेको छ । नेता खिमलाल भट्टराईविरुद्ध तिलोत्तमा नगरपालिकाका निवर्तमान प्रमुख वासुदेव घिमिरेले बागी उम्मेदवारी दिए । 
एमालेका जगन्नाथ बास्तोलाले कास्की –३ मा बागी उम्मेद्वारी दर्ता गराए । एमालेले प्रतिनिधिसभा कास्की ३ मा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ । 
नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा क बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले उक्त निर्वाचन क्षेत्रबाट यसअघिका संघीय सांसद लालबहादुर थापालाई टिकट दिएको छ । 
सर्लाही १ मा एमालेमा मानबहादुर खड्काको बागी उम्मेदवारी दर्ता भएको  छ ।
सुर्खेत क्षेत्र नम्बर १ (ख) मा एमालेका डण्डीप्रसाद शर्माविरुद्ध खड्कबहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन् । 

माओवादी र जसपाबाट क–कसले दिए बागी उम्मेद्वार ?

सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की ३ बाट प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेद्वारी दर्ता गराएकी छन् । कास्की ३ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उम्मेदवार छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जन्नत अन्सारीले पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) का लागि बागी उम्मेद्वारी दिएका छन् । एमाले जसपा गठबन्धनको सिट बाँडफाँटमा उक्त क्षेत्र एमालेले पाएको छ । राम्रो काम गर्दा पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको अन्सारीले बताएका छन् ।
यस्तै जसपाकी केन्द्रीय सदस्य करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पार्टीले टिकट नदिएपछि उनले पर्सा २ को (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । 
 

Logo