चुनावी मैदानमा ५ पूर्व अर्थमन्त्रीहरु

चुनावी मैदानमा ५ पूर्व अर्थमन्त्रीहरु


आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५ जना पूर्वअर्थमन्त्री चुनावी मैदानमा छन् । वर्तमान अर्थमन्त्री जनार्दन शर्मा तथा पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । कार्की भने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पनि हुन्।  

कसले कहाँबाट दिए उम्मेद्वारी ?

जनार्दन शर्मा
वर्तमान अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । उनी सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् । उनीसँग प्रतिस्पर्धामा एमालेका नन्दराम देवकोटा छन् । शर्मा विगतका निर्वाचनहरुमा निरन्तर रुपमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । 

वर्षमान पुन ‘अनन्त’
माओवादी उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेदवारी दर्ता गराएका छन् । यसअघि ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि पुनले रोल्पाबाट बिजयी हासिल गरेका थिए । 

विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा भएको निर्वाचनमा पौडेल सोही क्षेत्रबाट ४४ हजार ९ मत ल्याएर विजयी भएका थिए । पौडेलले यसपटक गठबन्धनका साझा उम्मेदार राजु गुरुङसँग प्रतिस्पर्धा गर्दैछन् । 

सुरेन्द्र पाण्डे
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्यको लागि चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट विजय हासिल गरेका पाण्डेले यसपटक सत्तारुढ गठबन्धनका साझा उम्मेदार डा. विश्व पौडेलसँग प्रतिस्पर्धा गर्ने छन् ।

ज्ञानेन्द्रबहादुर कार्की
पूर्वअर्थमन्त्री तथा हाल सञ्चार एवं सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदारी दिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा कार्कीले सोही निर्वाचन क्षेत्रबाट ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दै एमालेका उम्मेदवार रमेश श्रेष्ठलाई पराजित गरेका थिए । यसपटक कार्कीले एमालेका उम्मेदवार जगदिश कुसियतसँग प्रतिस्पर्धा गर्नेछन् ।
 

Skip This
Logo