डेब्युको तयारीमा युवा नेताहरु

डेब्युको तयारीमा युवा नेताहरु


प्रतिनिधिसभा र प्रदेशसभामा युवाहरू अगाडि आउनुपर्ने बहस चलिरहँदा केही युवाले निर्वाचनमा डेब्यु गरेका छन् । देशका ठूला र पुराना दलमा पहिलो र दोस्रो पुस्ताले संसदीय राजनीतिमा हैकम जमाइरदा यो पटक युवाहरूले अवसर पाएका छन् । डेब्यु मै उनीहरुले छक्का हान्ने नहान्ने भन्ने यकिन भने मतपेटिका खोलेपछि थाहा हुनेछ । तर केही नेताको अहिलेका चुनावी तयारी भने आश लाग्दो छ ।  

१. ठाकुर गैरे
२०६३ सालमा एमाले निकट अनेरास्ववियुको अध्यक्ष भए ठाकुर गैरे । विद्यार्थी राजनीतिबाट माथि उठ्दै उनी अहिले एमालेको केन्द्रीय सदस्य छन् । तर संसदीय निर्वाचनको अनुभव भने थिएन । पाल्पाका गैरे अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा मैदानमा उत्रिन खोजेका थिए । तर, उनकै जिल्लाका अर्का नेता सोमप्रसाद पाण्डेका कारण टिकट पाउन असफल भए । 

तर यस पटक भने गैरेले पाल्पा क्षेत्र नम्बर २ बाट टिकट पाउन सफल भए । जिल्लाका अर्का प्रतिस्पर्धी पाण्डेयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेपछि गैरेको डेब्यु समय यकिन भएको हो । तर उनै पाण्डेय पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । त्यो पनि गठबन्धनको तर्फबाट । कांग्रेस र एमालेको निकै रोचक प्रतिस्पर्धा देखिने यो निर्वाचन क्षेत्रमा अहिले कांग्रेसका नेता तथा कार्यकर्ता पाण्डेयलाई टिकट दिएको कुरामा खुसी छैनन् । असन्तुष्ट नेपाली कांग्रेसका मतदाताको मत आफूलाई ल्याउन सके जित्न सकिने अनुमानमा गैरे छन् । पहिलो पटक संसदमा उपस्थिति जनाउन खोजेका गैरेलाई कति सहज होला ? त्यो भने हेर्न बाँकी छ । 

२. निरज आचार्य
२०६४ सालदेखि नेकपा एमाले जाजरकोटबाट सांसदका लागि सिफारिस भइरहने नेता हुन् निरज आचार्य । तर उनले चुनाव लड्ने अवसर भने कुनै समय पनि पाएनन् । तर यो पटक भने उनलाई संसदीय निर्वाचनको अवसर जुरेको छ । २०५४ सालमा १९ वर्षकै उमेरमा उनी जिल्ला विकास समितिको सदस्य भएका थिए । त्यो समय देशकै कान्छो जनप्रतिनिधिका रुपमा उनको चर्चा थियो । आचार्य २०४७ सालको प्रजातान्त्रिक राष्ट्रिय संघका कान्छा केन्द्रीय सदस्य हुन् । 

३. सूर्य थापा
लामो समय पत्रकारिता गरेका एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले पनि योपटक प्युठानबाट उम्मेदवारी दर्ता गराएका छन् । पछिल्लो समय उनी पार्टीको जिल्ला इन्चार्ज छन् । मंसिर चारको निर्वाचन उनका लागि डेब्यु हो । पहिलो पटक चुनावी मैदानमा उत्रिएका उनीविरुद्ध सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेखवार दुर्गा पौडेल प्रतिस्पर्धामा छन् । 

४. रमेश मल्ल
रमेश मल्ल अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख स्वकीय सचिव हुन् । उनी सल्यानका स्थायी बासिन्दा हुन् । मल्ल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य पनि हुन् । यो जिल्लाबाट लगातार तीन कार्यकाल टेकबहादुर बस्नेतले विजय हासिल गरेका थिए । तर यो पटक भने टेकबहादुरको स्थानमा माओवादीले मल्लको नाम सदर गर्यो । मल्ल पहिलो निर्वाचनमा क्याच आउट हुन्छन् कि बाउन्ड्री मार्छन् हेर्न बाँकी छ । 

५. ऐन महर
नेकपा एमालेले बझाङमा ऐन महरलाई उम्मेदवार बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठकले दिएको अधिकार प्रयोग गर्दै बझाङमा महरलाई उम्मेदवार बनाएका हुन् । महर अनेरास्ववियुका पूर्वअध्यक्ष हुन भने एमालेको वर्तमान केन्द्रीय कमिटीका सदस्य पनि ।

६. गुरुराज घिमिरे
गुरु राज घिमिरे कांग्रेस निकट नेविसंघका पूर्वसभापति हुन् । उनले पनि योपटक मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा डेब्यु गरेका छन् । ०६२–६३ को जनआन्दोलनमा नेविसंघमा गणतन्त्रको नारा लगाउने उनी पहिलो विद्यार्थी नेता थिए । त्यसपछि नेपाली कांग्रेसमा गणतन्त्रको नारालाई स्वीकार्न दबाब परेको थियो । पछिल्लो समय पार्टीमा पछि पर्दै आएका उनलाई कांग्रेसले पहिलो पटक टिकट थमाएको हो । 

Logo